काठमाडौं, असार ९ । नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी रहेको छ। बैठकमा सरकारले पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई ‘गैरकानुनी रूपमा गिरफ्तार गरेको’ विषयलाई लिएर गम्भीर छलफल भएको एमालेले जनाएको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, विकसित परिस्थितिहरू तथा त्यसले सिर्जना गरेको राजनीतिक प्रभावबारे आफ्नो धारणा राख्नुभएको छ।
बैठकमा वर्तमान राजनीतिक अवस्थाको समग्र समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने रणनीति, सरकारप्रति अपनाउने धारणा तथा आगामी राजनीतिक कदमबारे पनि विस्तृत छलफल भइरहेको बताइएको छ।
एमालेले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै त्यसबारे पार्टीको आधिकारिक धारणा र आगामी कार्यक्रम सचिवालय बैठकपछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टीको संगठनात्मक गतिविधि र आगामी राजनीतिक रणनीतिका विषयमा पनि छलफल जारी रहेको एमालेले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्