जनता टाइम्स

९ असार २०८३, मंगलवार २२:२७

 लिखु-३ जलविद्युत आयोजनाकाे दादागिरी : विकास निर्माणमा अवरोध र जनप्रतिनिधिमाथि अभद्र व्यवहार प्रति गाउँपालिकाकाे आपत्ति


रामेछाप, असार ९ । लिखु तामाकोसी गाउँपालिकाले स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड (लिखु-३ जलविद्युत आयाेजना) का प्रतिनिधिहरूले गाउँपालिकाले सञ्चालन गरिरहेको सडक निर्माण कार्यमा अवरोध सिर्जना गरेको तथा जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

गाउँपालिका अध्यक्ष केशव महतद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार गाउँपालिका र सडक बोर्ड नेपालको साझेदारीमा चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भइरहेको धारापानी–सिरिसे सडक मर्मत योजनाअन्तर्गत वडा नं. २ को सेती खोला आसपास सडक नाला निर्माण कार्य उपभोक्ता समितिसँग भएको सम्झौताअनुसार सञ्चालन भइरहेका बेला उक्त घटना भएको जनाइएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार निर्माण कार्य भइरहेका बेला स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका प्रतिनिधिहरूले आयोजनासँग सम्बन्धित विषयलाई लिएर उपभोक्ता समितिका पदाधिकारीहरूलाई निर्माण कार्य रोक्न दबाब दिएका छन्। साथै, गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यक्रममा सहभागी हुन जाँदै गर्नुभएका जनप्रतिनिधिहरूलाई बाटोमै रोकी स्थानीय सरकारद्वारा सञ्चालित निर्माण कार्यले हाइड्रोपावर आयोजनामा असर परेको भन्दै काम अवरुद्ध गराइएको दाबी पनि विज्ञप्तिमा गरिएको छ।

गाउँपालिकाका अनुसार वडा नं. २ का वडा अध्यक्ष सन्तोष पौडेललगायत जनप्रतिनिधिमाथि गालीगलौज तथा अमर्यादित र अभद्र व्यवहारसमेत गरिएको छ। गाउँ कार्यपालिकाले उक्त घटनाको घोर भर्त्सना गर्दै गहिरो खेद व्यक्त गरेको छ।

गाउँपालिकाले यदि आयोजनासँग सम्बन्धित कुनै गुनासो, समस्या वा विवाद रहेको भए सम्बन्धित निकाय र सरोकारवालाबीच समन्वय तथा कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा त्यसो नगरी स्थानीय सरकारको विकास निर्माण कार्यमै प्रत्यक्ष अवरोध सिर्जना गर्नु तथा निर्वाचित जनप्रतिनिधिमाथि अमर्यादित व्यवहार गर्नु कानून, लोकतान्त्रिक मूल्य–मान्यता र सुशासनको भावनाविपरीत भएको जनाएको छ।

विज्ञप्तिमा नेपालको संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका स्थानीय सडकको संरक्षण, सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिएको उल्लेख गर्दै गाउँपालिकाले सोही संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गरिरहेको स्पष्ट पारिएको छ।

गाउँपालिकाका अनुसार हलेदे–धोबी–सिरिये–ढाडे सडक खण्ड हाइड्रोपावर आयोजना निर्माण हुनुभन्दा अघिदेखि सञ्चालनमा रहेको सार्वजनिक सडक हो। तर आयोजना निर्माणका क्रममा पेनस्टक पाइप तथा अन्य संरचनाको उचित व्यवस्थापन नगर्दा वाग्मती र कोशी प्रदेश जोड्ने उक्त सार्वजनिक सडकको आवागमन तथा उपयोगमा अवरोध पुगेको विषयप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गाउँपालिकाले स्थानीय सरकारको संवैधानिक अधिकारमाथि चुनौती सिर्जना गर्ने, सार्वजनिक विकास निर्माण कार्यमा अवरोध पुर्‍याउने तथा जनप्रतिनिधिमाथि अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका आयोजनाका प्रमुख तथा जिम्मेवार कर्मचारीमाथि प्रचलित कानूनबमोजिम आवश्यक छानबिन गरी कारबाही गर्न सम्बन्धित सरोकारवाला निकायसँग माग गरेको छ।

साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही नगरिए स्थानीयवासीमा असन्तुष्टि बढ्न सक्ने र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित जटिल परिस्थितिको जिम्मेवारी सम्बन्धित हाइड्रोपावर कम्पनीले नै वहन गर्नुपर्ने चेतावनीसमेत गाउँपालिकाले दिएको छ।

मंगलबार   आयोजनाका प्रमुख सजन श्रेष्ठ तथा प्रशासन प्रमुख रुची श्रेष्ठ लगायतका कर्मचारीहरूले स्थानीय उपभोक्ता समितिले गाउँपालिकासँगको सम्झौता अनुसार सडक नाली निर्माणको काम गर्दा आयोजनामा प्रभाव परेको भन्ने बहानामा जनप्रतिनिधिहरूमाथि अभद्र व्यवहार, गालीगलौज तथा हातपातको प्रयास गरेका थिए ।  त्यस क्रममा छलफल गर्ने भनि प्रहरी चौकी सिरिसेमा लगेर करिब चार घण्टासम्म बन्धकसरह राखी गाउँ सभामा समेत सहभागी हुन नदिई मानसिक रूपमा अपमानित गरिएकाे वडाध्यक्ष पाैडेलले बताउनुभयाे ।  सो अवधिमा आयाेजनाका कर्मचारीबाट निरन्तर धम्की दिँदै जबरजस्ती कागज तयार गरी हस्ताक्षर गराउन खोजिएको उहाँकाे भनाइ छ ।

साे आयोजनाले सम्झौता अनुसार नदीमा न्यूनतम १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान भए तापनि हालसम्म खोलामा एक थोपा पानीसमेत प्रवाह गरेकाे छैन । जसले जलचर प्राणीको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पारेको छ।

साथै, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा उदासीनता देखाउने, नेपाल सरकारसँग गरिएको सम्झौताको कार्यान्वयन नगर्ने, तथा स्थानीय नागरिक र जनप्रतिनिधिलाई धम्क्याउने, सार्वजनिक स्थलमा अवरोध सिर्जना गर्ने जस्ता क्रियाकलापहरू निरन्तर देखिँदै आएकाे छ। तिनै विषयमा बारम्बार कुरा उठाएकै कारण नाला निर्माणकाे विषयमा विवाद उठाइ जनप्रतिनीहरु माथि हातपातकाे प्रयास गरिएकाे उहाँहरुकाे भनाइ छ ।