चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन जारी रहेकै बेला पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आफ्नो टोलीसहित काठमाडौं फर्किनुभएको छ।
चितवनको भरतपुरमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदानको तयारी भइरहेका बेला उहाँको टोली बुधबार बिहान बुद्ध एयरमार्फत काठमाडौं प्रस्थान गरेको हो।
महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन असार ७ गते पत्नी र छोरीसहित चितवन आउनुभएका बालेनले मंगलबार सभापति पदका लागि रवि लामिछानेलाई प्रस्ताव गर्नुभएको थियो। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेकाले लामिछाने निर्विरोध निर्वाचित हुनुभएको थियो।
बालेन परिवारसहित आइतबारदेखि चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्दै आउनुभएको थियो। काठमाडौं फर्किनुअघि उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती र छोरीसँगको तस्बिर सार्वजनिक गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेख्नुभएको थियो।
महाधिवेशनमा नेतृत्व चयनका अन्य प्रक्रिया भने जारी रहेका छन्। रास्वपाले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइरहेको छ।













प्रतिक्रिया दिनुहोस्