काठमाडौं, असार १० । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको व्यवस्थापन तथा अद्यावधिकका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। यसअघि तोकिएको समयभित्र सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यलाई असार २० गतेसम्मको अतिरिक्त समय दिँदै पार्टीले नयाँ तालिका लागू गरेको हो।
पार्टीले जारी गरेको कार्यतालिकाअनुसार जेठ २८ गतेभित्र सदस्यता अद्यावधिक गर्न नसकेका सदस्यहरूले अब असार २० गतेभित्र आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सक्नेछन्। यस कार्यका लागि भुवन ओझालाई सम्पर्क व्यक्ति तोकिएको कांग्रेसले जनाएको छ।
नयाँ कार्यतालिकाअनुसार नवीकरण हुन बाँकी रहेका क्रियाशील सदस्यताको नवीकरण तथा अद्यावधिक, नयाँ क्रियाशील सदस्यता वितरण, १४औँ महाधिवेशनका क्रममा स्थगित भएका सदस्यहरूको नवीकरण तथा अद्यावधिक, साथै स्थानान्तरण भएका सदस्यहरूको विवरण अद्यावधिक गर्ने कार्य पनि असार २० गतेभित्र सम्पन्न गरिनेछ।
त्यसैगरी, नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ सदस्यता वितरणका लागि असार १० गतेसम्मको समय निर्धारण गरिएको छ। कांग्रेससँग समाहित भएका दलका सदस्य तथा पछिल्लो समय पार्टी प्रवेश गरेका व्यक्तिहरूको सदस्यता व्यवस्थापनको काम भने असार २० गतेभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ। यी सबै कामका लागि पार्टीले छुट्टाछुट्टै सम्पर्क व्यक्तिसमेत तोकेको जनाएको छ।
क्रियाशील सदस्यता व्यवस्थापनको विषयमा पार्टीभित्र भने मतभेद कायमै छ। पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षले सदस्यता अद्यावधिक प्रक्रियाप्रति असहमति जनाउँदै पार्टीको निर्णयमा विमति राख्दै आएका छन्।
यसबीच, पार्टीले बाँकी रहेका सबै सदस्यको सदस्यता अद्यावधिक सम्पन्न गर्ने लक्ष्यसहित नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। कांग्रेसका सभापति गगन थापाले सोमबार झापामा आयोजित कार्यक्रममा सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले नचिन्ने स्पष्ट सन्देश दिनुभएको थियो।













प्रतिक्रिया दिनुहोस्