जनता टाइम्स

१० असार २०८३, बुधबार १६:३७

बिष्णु पौडेललाई थुनामुक्तको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता


काठमाडौं, असार १० । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेललाई गैरकानूनी थुनामा राखेको भन्दै पत्नी दोमाया पौडेलले बुधबार बन्दीप्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो । बिना प्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश (थुनामुक्त) जारी गर्न माग गरिएको छ। बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि बिहीबार (भोलि) का लागि पेसी तोकिएको छ ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उहाँलाई विशेष अदालतबाट मङ्गलबार सात दिनको थुना म्याद थप भएको थियो । सरकारले राजनीतिक प्रतिशोधका आधारमा पौडेललाई सुर्खेतबाट गिरफ्तार गरी रातारात स्थलमार्गबाट काठमाडौं ल्याएको थियो ।