जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार ११:१७

हेलम्बुमा भोटेकोशीको भन्दा पनि अग्लो बञ्जीजम्प निर्माण गरिने


मेलम्ची, बैशाख २९

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६/७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ ।

लागत अनुमान धेरै भएकाले निर्माणका लागि ‘सस्पेन्सन ब्रिज डिभिजन’लाई आग्रह गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । परियोजना प्रतिवेदनअनुसार बञ्जीजम्पको उचाइ १७३ मिटर र झोलुङ्गे पुल ३७० मिटर लामो हुनेछ । बन्न लागेको झोलुङ्गे पुल देशको हालसम्मकै लामो पुल हुने भएकाले प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको गाउँपालिकाका इञ्जिीनियर शेरबहादुर राईले बताउनुभयो । उहाँका अनुसार देशमा हाल २५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन ।

हेलम्बु गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइने झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्दछ । उक्त पुल बनेपछि एक गाउँबाट अर्को गाउँ पुग्न लाग्ने पाँच घण्टा समयसमेत बचत हुने इञ्जिीनियर राईले बताउनुभयो । सो स्थानमा बञ्जीजम्प तयार भएपछि अझ बढी पर्यटक आउने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सक्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

सन् १९९८ मा प्रकाशित पर्यटनसम्बन्धी ‘वेभ’ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो २२० मिटर उचाइ बञ्जी दक्षिण अफ्रिकामा छ । त्यसपछि १६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोशी नदीमा विसं २०५६ देखि सञ्चालनमा आएको छ । हेलम्बुमा अब बन्ने बञ्जीको उचाइ भोटेकोशीको तुलनामा १३ मिटर बढीको हुनेछ ।