जनता टाइम्स

१० असार २०८३, बुधबार २०:०६

बालेन सरकारका ६ मन्त्रीले दिएनन् केन्द्रीय सदस्यमा उम्मेदवारी, त्याग कि हार्ने डर ?


चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा बालेन शाह नेतृत्वको सरकारमा रहेका ६ जना मन्त्रीले केन्द्रीय सदस्यमा उम्मेद्वारी नदिइ बसेका छन । प्रधानमन्त्री बालेन शाह सिधै वरिष्ठ नेतामा मनोनीत हुने भएकाले उहाँले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु नपर्ने बैधानिक ब्यवस्था गरिएको छ । शाहसहित ६ जना मन्त्रीको नाम पनि उम्मेदवारहरूको प्रारम्भिक सूचीमा छैन।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा बालेन निकट गृहमन्त्री सुधन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले उम्मेद्वारी दिनुभएको छैन । पदाधिकारीमा आकांक्षी दुवै मन्त्रीले उम्मेद्वारी नदिएको प्रकाशित नामावली सूचीले देखाएको छ । भौतिक पूर्वाधारमन्त्री लम्साललाई सिधै पदाधिकारीमा मनोनीत गराउने प्रधानमन्त्री बालेनको योजना छ । यस्तै सुधनले पनि पदाधिकारीको आकांक्षा राख्नुभएको छ तर टुंगिएको छैन ।

त्यस्तै, केन्द्रीय सदस्यका लागि उम्मेदवारी नदिने अन्य मन्त्रीमा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमल्सिना, पर्यटन तथा नागरिक उड्डयन मन्त्नी खडकराज पौडेल (गणेश) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र भूमि ब्यवस्था तथा संघीय मामिला मन्त्री प्रतिभा रावल रहनुभएको छ । रावलको नाम उपसभापतितर्फ चर्चामा रहेको थियो। यो खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने पद हो।

यसबाहेक बालेन सरकारमा रहेका ९ जना मन्त्रीले भने केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय क्लस्टरतर्फ गण्डकी प्रदेशबाट उम्मेदवारी दिनुभएको छ भने परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय क्लस्टरतर्फ बागमती प्रदेशबाट उम्मेदवारी दिनुभएको छ ।

यसैगरी कानुनमन्त्री सोबिता गौतम (राष्ट्रिय क्लस्टर), ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ (राष्ट्रिय), शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल (राष्ट्रिय), स्वास्थ्य मन्त्री निशा मेहता भूगोल), कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी (राष्ट्रिय), युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव (राष्ट्रिय) र महिला तथा बालबालिका मन्त्री सीता वादी (भूगोल) को नाम उम्मेदवार बन्नुभएको छ ।

रास्वपामा बिधानअनुसार केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ जना चुनावमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ। पहिलो चरणमा केन्द्रीय सदस्य निर्वाचनको नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि चुनाव हुनेछ। रास्वपाको संशोधित विधान अनुसार १९ सदस्यीय पदाधिकारीमध्ये ८ जनाका लागि मात्र चुनाव हुनेछ। बाँकी ११ जना सभापतिले मनोनयन गर्ने ब्यवस्था छ।