जनता टाइम्स

११ असार २०८३, बिहीबार ०७:१३

हेटौँडा उपमहानगरको बजेट २ अर्ब ८५ करोड रुपैँया


 काठमाडौं, असार ११ । हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ। बुधबार नगरसभामा प्रस्तुत गरिएको वार्षिक बजेट सर्वसम्मत रूपमा पारित भएको हो।

उपमहानगरपालिकाका उपप्रमुख राजेशकुमार बानियाँले नगर अधिवेशनमा प्रस्तुत गर्नुभएको बजेटअनुसार आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँटतर्फ ९९ करोड २० लाख ४८ हजार रुपैयाँ, बागमती प्रदेश सरकारबाट विभिन्न अनुदान शीर्षकमा १० करोड १ लाख ७२ हजार रुपैयाँ तथा सङ्घीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरसभामा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले हेटौँडाका केही दुर्गम वडाका टोलहरूमा खानेपानी, सडक तथा विद्युतीकरणको पहुँच विस्तार गरिने जानकारी दिनुभयो।

त्यस्तै स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन क्षेत्रको विस्तार, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि तथा किशोरीहरूको शैक्षिक पहुँच बढाउने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो।

प्रमुख लामाले भौतिक पूर्वाधार निर्माणलाई आगामी वर्षको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने बताउँदै समग्र नगर विकास, सेवा सुविधा विस्तार र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तय गरिएको जानकारी दिनुभयो।

उहाँले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलपछि नगरसभाले बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको हो। बजेट कार्यान्वयनमार्फत नगरका आधारभूत सेवा, पूर्वाधार तथा सामाजिक क्षेत्रका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उपमहानगरपालिकाको अपेक्षा रहेको छ।