जनता टाइम्स

११ असार २०८३, बिहीबार ०७:५०

वीरगञ्ज महानगरको बजेट ४ अर्ब ४२ करोड रुपैँया, पूर्वाधार विकास र सुशासनमा विशेष जोड


वीरगञ्ज, असार ११ । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित नगरसभाको २० औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमतर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले उक्त बजेट प्रस्तुत गर्नुभयो। महानगरले पूर्वाधार विकास, आर्थिक समृद्धि, सामाजिक विकास, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् कुल बजेटको ४४.६ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ।

चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.३ प्रतिशत रकम विनियोजन गरिएको छ। महानगरले सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा सञ्चालन खर्चका लागि उक्त बजेट व्यवस्था गरेको जनाएको छ।

राजस्व स्रोततर्फ सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ तथा सङ्घीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ र प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, गत आर्थिक वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ।

बजेट प्रस्तुत हुनुअघि कार्यवाहक प्रमुख आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास तथा सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

कार्यवाहक प्रमुख आलमको अध्यक्षतामा सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्यहरू, महानगरका ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरू, कर्मचारी र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

महानगरपालिकाले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमले शहरी पूर्वाधारको विस्तार, सेवा प्रवाहमा सुधार, वातावरणीय संरक्षण तथा नागरिकमैत्री शासन प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनालाई तीव्रता दिँदै वीरगञ्जलाई व्यवस्थित, समृद्ध र सुशासित महानगरका रूपमा विकास गर्ने लक्ष्य महानगरपालिकाले लिएको जनाएको छ।