जनता टाइम्स

११ असार २०८३, बिहीबार ०९:३०

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश


लन्डन, असार ११ । विश्वकपका खेलमा लगातार तीन जित निकाल्दै मेक्सिको समूह ए को विजेता बनेको छ । तेस्रो खेलमा चेकियालाई ३–०ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो ।

मेक्सिकोका लागि माटियो चाभेजले खेलको ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, ६१ औँ मिनेटमा जुनियो क्विनाजले गोल गरे । इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै नतिजा ३–० को स्थितिमा ल्याए ।

यता, अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गर्‍यो। दोस्रो हाफमा थपेलो मोसेन्कोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याएका हुन् । समूह तालिकामा चार अंक बटुल्दै उसले पहिलोपटक नकआउट चरण प्रवेश सुनिश्चित गरेको हो। यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेकियासँगको खेल बराबरी गरेको थियो । दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा चार अंक बटुल्यो ।

दक्षिण कोरियाले एक खेलमा मात्रै जित हातपार्दा उसले तीन अंक बटुल्यो । अर्को चरणमा जानका लागि दक्षिण कोरियाले कुर्नुपर्न भएको छ ।

एक खेल बराबरी खेलेको चेकिया मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ ।