जनता टाइम्स

११ असार २०८३, बिहीबार ०९:५२

फिफाले नेपालमाथि लगायो प्रतिबन्ध, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने


काठमाडौं, असार ११ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि प्रतिबन्ध लगाएको जनाएको छ।

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई निलम्बन गर्ने निर्णय गरेको हो। फिफाका अनुसार सदस्य संघको स्वतन्त्रता र स्वायत्ततामा बाह्य हस्तक्षेप भएको ठहर गर्दै उक्त कदम चालिएको हो।

यस निर्णयसँगै नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सदस्यता सम्बन्धी सबै अधिकार गुमाएको छ। प्रतिबन्ध कायम रहेसम्म एन्फाका राष्ट्रिय टोली तथा क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

फिफाले जारी गरेको निर्णयमा निलम्बन कायम रहुञ्जेल नेपालका पुरुष तथा महिला राष्ट्रिय टोली, उमेर समूहका टोलीहरू र एन्फासँग आबद्ध क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता, कार्यक्रम तथा गतिविधिमा भाग लिन नपाउने उल्लेख गरिएको छ।

नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल निलम्बन भएको यो पहिलो घटना मानिएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको फुटबल गतिविधिमा प्रत्यक्ष असर पार्ने देखिएको छ। विशेषगरी आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेका राष्ट्रिय टोली तथा क्लबहरू प्रभावित हुनेछन्।

फिफाले तेस्रो पक्षको हस्तक्षेप अन्त्य भई सदस्य संघको स्वतन्त्र सञ्चालन सुनिश्चित भएपछि मात्र निलम्बन फुकुवाबारे विचार गरिने संकेत गरेको छ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। यद्यपि, उक्त निलम्बन पछि फुकुवा गरिएको थियो। पछिल्लो फिफा निर्णयले भने नेपाली फुटबल प्रशासनमा देखिएको विवाद र हस्तक्षेपको विषयलाई अन्तर्राष्ट्रिय तहमा समेत गम्भीर रूपमा हेरिएको संकेत गरेको छ।

फिफाको यो निर्णयपछि एन्फा, राष्ट्रिय खेलकुद परिषद् तथा सम्बन्धित निकायहरूको प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ। प्रतिबन्ध फुकुवाका लागि आवश्यक प्रक्रिया र सुधारका कदमबारे आगामी दिनमा थप छलफल हुने अपेक्षा गरिएको छ।