जनता टाइम्स

११ असार २०८३, बिहीबार १३:००

रास्वपा महाधिवेशन : पहिलाे चरणकाे मतदान सकियाे 


चितवन असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचनमा मतदान सकिएकाे छ ।

४ हजार २ सय प्रतिनिधि सहभागी रहेकाे महाधिवेशनमा पहिलाे चरणमा ३ हजार भन्दा कमले मतदान गरेका छन् ।

विद्युतीय भोटिङ सेवाप्रदायक रामलक्ष्मण इनोभेसनको रेकर्डमा उल्लेख भएअनुसार दिउँसो १२:३० को समयमा २९ सय ५० जनाले मतदान गरेका छन् । केही लाइनमा रहेका मतदाताले भाेट हाल्दा ३ हजार मत नकट्ने प्राविधिकहरुले जनाएका छन्। ४२ सय प्रतिनिधिले भाग लिएको महाधिवेशनअन्तर्गत निर्वाचन कार्यमा ढिलाइ हुँदा थुप्रै घर फर्किएका कारण भोट हाल्नेको संख्या घटेको हाे ।

पहिलो चरणमा थुप्रै उम्मेदवारका नामको क्रमांक बिग्रिएको, चिन्ने नाम उल्लेख नभएको र क्लष्टर फेरेर निर्वाचन समितिले उम्मेदवारी दिएभन्दा फरक क्लष्टरमा पारेको असन्तुष्टि देखिएको छ । त्यस्ता उम्मेदवार पराजित भएमा थप किचलाे हुने सम्भावना छ ।

पहिलाे चरणकाे मतपरिणाम आए पछि पदाधिकारीकाे लागि मतदान हुने छ । तर धेरै प्रतिनिधि घर हिँडि सकेकाले पदाधिकारीकाे निर्वाचनमा निक्कै कम मत खस्ने अनुमान गरिएकाे छ ।