जनता टाइम्स

११ असार २०८३, बिहीबार १६:०५

कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै विद्यार्थी आन्दोलित, नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको शिक्षा मन्त्रीको दाबी 


 काठमाडौं, असार ११ । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मुल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गर्नुभएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले ‘१२ वर्षको मेहनत खेर गएको जिम्मेवार को ?’, ‘हाम्रो भविष्य बरबाद भयो, न्याय खोज्न कहाँ जाऊँ ?’, ‘मन्त्रीहरूको अहङ्कारको मूल्य विद्यार्थीहरूले किन चुकाउनुपर्छ ?’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले नतिजा छिटो सार्वजनिक गर्ने नाममा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको र त्यसको प्रत्यक्ष असर आफूहरूमाथि परेको दाबी गरेका छन्। उनीहरूले नतिजासम्बन्धी विषय केवल अङ्कको प्रश्न नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएको उल्लेख गर्दै निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिकाको पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

मागहरूको सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत विद्यार्थीहरूले दिएका छन्।

यता, शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको दाबी गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफूले यसअघि नै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै प्रक्रिया पारदर्शी र विश्वसनीय रहेको बताउनुभएको छ। उहाँले नतिजा प्रकाशनमा कुनै हतार नगरिएको र आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर निर्धारित समयमै नतिजा सार्वजनिक गरिएको स्पष्ट पार्नुभएको छ ।

मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आफ्ना धारणा राख्दै आन्दोलन गरिरहेका विद्यार्थीहरूको अधिकारप्रति सरकार सम्मान गर्ने बताउनुभएको छ । लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै उहाँले आन्दोलनप्रति सम्मान व्यक्त गर्नुभयो।

साथै, सामाजिक सञ्जालमा आन्दोलनरत विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले कुनै पनि व्यक्ति वा समूहप्रति दुर्व्यवहार, गालीगलौज वा अपमानजनक टिप्पणी नगर्न सबैमा आग्रह गर्नुभएको छ।