काठमाडौं, असार ११ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा लोकतन्त्र अपहरित भएको, देश प्रतिगमनतर्फ उन्मुख रहेको तथा राष्ट्रियता र देशको अस्तित्व नै खतरामा परेको बताउनुभएको छ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलनका लागि बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन भदौ २३ र २४ गतेका घटनापछि भएका अवैधानिक तथा असंवैधानिक गतिविधिलाई वैधानिकता दिन रचिएको प्रपञ्च भएको आरोप लगाउनुभयो।
उहाँले निर्वाचनमा गुणस्तरहीन मसी प्रयोग गरिएको तथा मतपेटिका मतगणनास्थलसम्म पुर्याउने प्रक्रिया पनि शंकास्पद देखिएको उल्लेख गर्दै प्रमाणले पुष्टि नगरेसम्मका लागि मात्र निर्वाचन परिणाम स्वीकार गरिएको स्पष्ट पार्नुभयो। ‘निर्वाचन हुँदैमा देशमा लोकतन्त्र छ भन्न सकिँदैन, लोकतन्त्र अपहरित भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो।
प्रधानमन्त्रीको भारतसँग सम्बन्धित अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्नुभयो। कालापानी र लिपुलेक नेपालको भूमि भएको विषयले उक्त अभिव्यक्तिलाई खण्डन गरे पनि प्रधानमन्त्री आफ्नो भनाइ सच्याउन तयार नभएको उहाँको आरोप थियो। यसले राष्ट्रियता र देशको अस्तित्वमाथि गम्भीर चुनौती खडा गरेको उहाँले बताउनुभयो।
अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पहिलो निर्णयबाटै विपक्षी दलमाथि दमन गर्ने नीति अवलम्बन गरेको दाबी गर्नुभयो। बिना आधार र कारण विपक्षी नेताहरूलाई गिरफ्तार गर्ने, थुनामा राख्ने तथा राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको भन्दै उहाँले सरकार फाँसीवादी र नाजीवादी शैलीमा अघि बढिरहेको आरोप लगाउनुभयो।
सरकारले प्रतिपक्षसँग पञ्चायतकालभन्दा पनि निकृष्ट ढङ्गले व्यवहार गरिरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिकूल परिस्थितिमा पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफल गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले वर्तमान सरकार जनताको सेवक नभई शासक बन्न खोजिरहेको आरोप पनि लगाउनुभयो।
अध्यक्ष ओलीले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले करिब दुईतिहाइ बहुमतसहित सरकार सञ्चालन गरेको स्मरण गर्दै आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति–सुरक्षा र सुशासनका क्षेत्रमा ऐतिहासिक काम गरेको दाबी गर्नुभयो। त्यस अवधिमा सरकारले कहिल्यै आतङ्क सिर्जना नगरेको उहाँको भनाइ थियो।
एमाले सरकारबाट बाहिरिनुको कारण कुनै गलत काम वा असफलता नभई राष्ट्रियताको पक्षमा दृढ अडान र लोकप्रिय काम भएको दाबी गर्दै उहाँले पार्टीविरुद्ध झुटा लाञ्छना लगाएर योजनाबद्ध रूपमा बदनाम गर्ने प्रयास गरिएको बताउनुभयो।
वर्तमान सरकारले जर्मनीका हिटलर र इटालीका मुसाेलिनीबाट सिकेको शैलीमा देशलाई द्वन्द्वतर्फ धकेल्न खोजिरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले दमन र अत्याचारविरुद्ध अन्ततः जनविस्फोट हुने चेतावनी दिनुभयो। ‘हिटलर र मुसोलिनी आफ्नै कदमका कारण पतन भएका थिए। दमन र अत्याचारविरुद्ध जनविस्फोट हुन्छ, उनीहरू पराजित हुन्छन्,’ उहाँले भन्नुभयो।
आन्दोलनमा उतारचढाव स्वाभाविक हुने उल्लेख गर्दै अध्यक्ष ओलीले झुटा आरोप लगाएर कृत्रिम रूपमा पराजित गरिए पनि एमालेजस्तो सुदृढ संगठन र व्यापक जनाधार भएको पार्टीका नेता–कार्यकर्ता निराश हुन नहुने बताउनुभयो।
उहाँले अहिले पनि प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा तथा स्थानीय तहमा एमालेको उल्लेख्य उपस्थिति रहेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढे पुनः विजय हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
पार्टी निर्माण र राष्ट्रका लागि आफूले ६१ वर्ष समर्पित गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आन्दोलनका क्रममा शारीरिक यातना, कुटपिट र जेलजीवन भोग्दा पनि हरेस नखाएको बताउनुभयो। निर्वाचनमा पराजय भए पनि पार्टी समाप्त नभएकाले उच्च मनोबलका साथ पुनः विजयतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
भदौ २३ गते बालक हत्या र २४ गते आगजनीका घटना सरकार अपदस्थ गर्ने तथा सत्ता कब्जा गर्ने षड्यन्त्रअन्तर्गत भएको दाबी गर्दै उहाँले आफूमाथि बाल हत्या सम्बन्धी झुटा आरोप लगाइएको स्पष्ट गर्नुभयो। ‘अझै पनि झुटा आरोप लगाउने प्रयास भइरहेको छ, म ढल्न तयार छु, मारिन तयार छु, तर शिर झुकाउँदिनँ,’ अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले पार्टीभित्र अहिले एकता, समृद्धि र सङ्घर्षबाहेक अर्को विकल्प नरहेको बताउँदै संगठनलाई थप बलियो बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पाेखरेल, सचिव पद्मा अर्याल तथा सचिव खगराज अधिकारी लगायतका नेताहरूको सहभागिता रहेको थियो।













प्रतिक्रिया दिनुहोस्