जनता टाइम्स

१२ असार २०८३, शुक्रबार ०९:२५

रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल, पार्टी एकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिएकाे दाबी 


काठमाडौं, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले पार्टीको महामन्त्री पदको निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ। पार्टी एकता, संस्थागत सुदृढीकरण तथा नेतृत्वबीच सहमतिको आवश्यकतालाई सम्मान गर्दै उहाँले उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेकाे बताउनुभएकाे छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खनालले पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई थप सशक्त बनाउने उद्देश्यले आफूले उक्त निर्णय गरेको बताउनुभएको छ।

‘पार्टी एकता, संस्थागत सुदृढीकरण तथा नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु,’ उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले आफ्नो निर्णयले महामन्त्री पदका अन्य आकांक्षी नेताहरूलाई पनि सहमतिका आधारमा अघि बढ्न सहज हुने अपेक्षा व्यक्त गर्नुभएको छ।

खनालले हिजो सम्पन्न केन्द्रीय समितिको निर्वाचनमा देशभर तथा प्रवासबाट प्रतिनिधिहरूले आफूलाई व्यक्त गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पार्टीलाई सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ। ‘मलाई विश्वास गरी देशैभरिबाट र प्रवासमा रहनुभएका प्रतिनिधिहरूले व्यक्त गर्नुभएको विश्वास र भरोसाको सम्मान गर्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउने कुरामा मेरो भूमिका रहने नै छ,’ उहाँले भन्नुभएको छ।

उहाँले आफूलाई निरन्तर हौसला र साथ दिने सम्पूर्ण प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति हार्दिक आभारसमेत व्यक्त गर्नुभएको छ।