जनता टाइम्स

१२ असार २०८३, शुक्रबार ०९:४१

खाँडादेवीमा प्राविधिक कर्मचारीको सामूहिक राजीनामा, कुटपिट र धम्कीको विरोधमा सेवा प्रभावित


रामेछाप, असार १२ । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा आफूहरूमाथि कुटपिट, दुर्व्यवहार तथा निरन्तर धम्की भएको भन्दै सामूहिक रूपमा राजीनामा दिनुभएको छ। उहाँहरूको राजीनामासँगै गाउँपालिकाको पूर्वाधार शाखामार्फत सञ्चालन हुने नापजाँच, अनुगमन, योजना कार्यान्वयन तथा भुक्तानी प्रक्रियासमेत प्रभावित भएको छ।

गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार केही समययता उपभोक्ता समितिसँग सम्बन्धित तथा अन्य व्यक्तिहरूबाट प्राविधिक कर्मचारीमाथि अनावश्यक दबाब, धाकधम्की र असुरक्षा सिर्जना गर्ने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ। विज्ञप्तिमा २२ जना प्राविधिक कर्मचारीको हस्ताक्षर रहेको छ।

विज्ञप्तिअनुसार असार ९ गते सम्पन्न २० औँ गाउँसभाको अधिवेशनका क्रममा गाउँपालिका कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृतसहित प्राविधिक कर्मचारीमाथि दुर्व्यवहार तथा हातपातको प्रयास भएको थियो। त्यसको दुई दिनपछि असार ११ गते पूर्वाधार शाखाभित्रै प्राविधिक कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज र हातपातको धम्की दिइएको उल्लेख गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगेश कुमार यादवले प्राविधिक कर्मचारीमाथि घेरा हालेर कुटपिट गरिएको दाबी गर्नुभएको छ। उहाँका अनुसार पछिल्ला घटनापछि कर्मचारीहरूले आफूलाई अत्यन्त असुरक्षित महसुस गरिरहेका छन्। ‘विधि र प्रक्रियाअनुसार काम गर्दा पनि विभिन्न दबाब र अवरोध खेप्नुपरेको छ। अहिले त कसरी काम गर्नेभन्दा पनि कसरी ज्यान जोगाउने भन्ने चिन्ता भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो।

उहाँले यस्तो असुरक्षित वातावरणमा प्राविधिक कर्मचारीलाई योजनाको नापजाँच, अनुगमन तथा निरीक्षणका लागि फिल्डमा पठाउन सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो।

प्रेस विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीले भयमुक्त, सुरक्षित र स्वतन्त्र वातावरणमा काम गर्न पाउने संवैधानिक तथा कानुनी अधिकारमाथि आघात पुगेको उल्लेख गरिएको छ। कर्मचारीमाथि भइरहेको दबाब र भौतिक असुरक्षाका कारण विकास निर्माणका काम तथा सेवा प्रवाहमा गम्भीर असर परेको गाउँपालिकाको भनाइ छ।

गाउँपालिकाले कुनै पनि व्यक्ति वा समूहले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यले कर्मचारीमाथि मानसिक दबाब सिर्जना गर्ने, कार्यसम्पादनमा अवरोध पुर्‍याउने तथा भौतिक असुरक्षा निम्त्याउने कार्य कानुनविपरीत र अक्षम्य भएको जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको र कर्मचारीलाई निर्धक्क भएर काम गर्ने वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको सुरक्षा र आत्मसम्मानप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै विकास निर्माण र सेवा प्रवाहलाई निर्वाध रूपमा सञ्चालन गर्न सबै पक्षलाई जिम्मेवार र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

साथै, विज्ञप्तिमा उल्लेखित समस्या यथाशीघ्र समाधान नभए विकास निर्माणका आयोजना, पूर्वाधारसम्बन्धी काम तथा समग्र सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनीसमेत दिइएको छ। प्राविधिक कर्मचारीहरूको सामूहिक राजीनामापछि गाउँपालिकाको पूर्वाधार शाखाबाट हुने नापजाँच, अनुगमन, निरीक्षण तथा भुक्तानी प्रक्रिया तत्काल प्रभावित भएको गाउँपालिकाले जनाएको छ।