काठमाडौं, असार १२ । नेकपा (एमाले)का नेता सूर्य थापाले तथ्य र प्रमाणबिना व्यक्तिलाई पहिले पक्राउ गरेर त्यसपछि अनुसन्धान गर्ने कार्यशैली लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले झोसपोल र अपुष्ट सूचनाका आधारमा कसैलाई पक्राउ गरी दुर्व्यवहार गर्नु तथा प्रचारबाजी गरेर तथ्य स्थापित गर्न खोज्नु अस्वीकार्य हुने उल्लेख गर्नुभएको छ। ‘पहिले गिरफ्तार गर्ने, अनि अनुसन्धान थाल्ने असभ्य कार्यशैली लोकतान्त्रिक होइन,’ उहाँले लेख्नुभएको छ, ‘तथ्य प्रमाणसहित अनुसन्धान नगरी झोसपोलका आधारमा कसैलाई गिरफ्तार गरिसकेर दुर्व्यवहार गर्ने अपमानजनक कार्यशैली र झुठो प्रचार तथा होहल्ला गरेर तथ्य स्थापित हुँदैन।’
उहाँले अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा मात्रै अभियोजन हुनुपर्ने तथा सम्बन्धित व्यक्तिले निष्पक्ष सुनुवाइ र आफ्नो पक्षमा स्पष्टीकरण दिने अवसर पाउनु मौलिक अधिकार भएको बताउनुभएको छ। ‘अनुसन्धानबाट प्राप्त तथ्यको आधारमा अभियोजन गरी सुनुवाइको पर्याप्त मौका पाउनु र उठेका प्रश्नहरूको स्पष्टीकरण दिन पाउनु हरेक व्यक्तिको मौलिक अधिकार हो,’ उहाँले उल्लेख गर्नुभएको छ, ‘यस अधिकारको हनन गर्ने अधिकार कसैलाई छैन।’
नेता थापाले कुनै व्यक्ति दोषी वा निर्दोष भएको विषय तथ्य, प्रमाण र कानुनी प्रक्रियाबाट नै टुङ्गो लाग्ने भन्दै कानुनको सामना सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने धारणा राख्नुभएको छ।
उहाँले राज्यको नियन्त्रणमा रहेका व्यक्तिलाई आधारहीन प्रचारमार्फत बदनाम गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। ‘कसैलाई आफ्नो नियन्त्रणमा राखेर परिचालित माध्यममार्फत मनपरी बदनाम गर्न दुष्प्रचार गराउने कार्य सभ्य समाजलाई कुनै पनि हालतमा सुहाउने विषय होइन,’ उहाँले बताउनुभएको छ।
सम्पत्ति सुद्धिकरणकाे आराेमा एमाले उपाध्यक्ष विष्णु पाैडेललाई सरकारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । एमालेले यसलाई राजनीतिक पुर्वाग्रह भनेकाे छ ।













प्रतिक्रिया दिनुहोस्