यो समय पुनर्गठनका नाममा एकअर्काप्रति आरोप लगाउने समय होइन, आत्मबोधको सयम हो भनेर हामी सबैले बुझनै पर्दछ । नेतृत्वको आडमा अतितमा गरिएको सवैखाले बदमासी अव दोहोर्याउन्न भन्ने संकल्प चाहिन्छ । नेतृत्वको वरिपरि गोलबन्द भएर बिरोधीलाई तह लगाउने अठोट चाहिन्छ । शत्रुको इसारामा आफ्नो घरमा आगो लगाएर आफूबाहेक सवै मार्ने योजनाको पूर्णतः परित्याग चाहिन्छ
डा. सानुमैँया खड्का (सविता)
इतिहासलाई कुल्चन, बङ्याउन र त्यसलाई ओझेलमा पार्न फाल्गुण २१ को निर्वाचनपछि बालकोट (गुण्डु) वरिपरि एउटा आवाज निरन्तर सुनिँदै आएको थियो र छ, ‘पार्टी पुनर्गठन गर, नेतृत्व फेर, फलानालाई हटाऊ, नयाँ संरचना बनाऊ अर्थात पुस्तान्तरण गर, हस्तान्तरण गर ।’
मानौँ पार्टीको सबैभन्दा ठूलो समस्या विचार, नीति वा जनतासँगको सम्बन्ध होइन, समस्या आफूमा छैन, केवल टाउकोमा मात्र छ । त्यसको परिवर्तन वा पुनर्गठन नै सबै समस्याको एक मात्र समाधान हो । यस्तो भाष्य थियो र अहिले पनि छ । यो भाष्य भूराजनीतिक कारण थियो र हो । नेपाली समाजमा यसले एल्गोरिदम संगीतको सिर्जना गरेको छ । हामी नेपाली अहिले त्यसकोे तालमा नाँचिरहेका छौं । संगीत सर्जकहरू हाम्रो यो नचाई देखेर मूर्खहरूको नाँच भन्दै उडाइरहेका छन, हाँसिरहेका छन् ।
बिचारको बहशमा होइन, समस्याको पहिचानका लागि होइन, पुनर्गठन, नेतृत्व परिवर्तनका नाममा नेताहरू चर्को घाममा हातमा टोपी च्यापेर देश दौडाहामा पनि निस्किए । यति प्रतिशत पुर्नगठनको पक्षमा भनेर ‘पूर्वयोजनावद्ध र पूर्वघोषित न्यूजहरू पनि संप्रेशित गरियो । तथ्यबिपरित फेकन्यूज कारखाना पनि चलाइएको छ । तर प्रश्न उठाउन सकिन्छ, ‘के पार्टीले सामना गरिरहेको मूल समस्या वास्तवमै त्यही थियो ?’ समस्या शरीरभरी थियो, तर त्यसको दोष टाउकोलाई मात्रै दिन खोजियो ।
मुलुकमा उत्पन्न परिस्थितिको गहिरो राजनीतिक विश्लेषण गर्नुको सट्टा सामाजिक सञ्जालको हल्ला, क्षणिक जनमत र एल्गोरिदमले सिर्जना गरेको माहोललाई नै वास्तविकता ठान्न खोजियो । तर यस्तो काम देशी विदेशी शक्तिहरूले नेकपा एमालेलाई विभिन्न कोणबाट कमजोर बनाउने रणनीतिको एउटा सहयोगी भूमिकाबाहेक यो केही थिएन र होइन पनि । त्यसैले यो पुनर्गठनको मुद्दा मुलुकको चुनौतीहरूको मूलकारण होइन, बेमौषमको राग मात्रै हो ।
समस्या आफूमा छ, दोष अरुलाई दिएर आफू चोखो हुन सकिदैँन । त्यसैले नेतृत्व परिवर्तनको बहश आफू काँक्रा चोर्ने र बियाँ अरुको निधारमा टाँस्न खोज्ने प्रवृतिबाहेक केही थिएन र होइन पनि । हो पार्टीले निर्वाचन हार्यो, त्यसको सम्पूर्ण जिम्मेवारी केवल पार्टी अध्यक्षप्रति मात्रै थुपार्ने ? पदाधिकारी पानीमाथिको ओभानो बन्ने ? टिकट बितरणमा मनपरी गर्ने, केन्द्रीय कार्यालयलाई नै गुटको अखडा बनाउनेहरूले चाँहि केही जिम्मा लिनै नपर्ने ? सम्वन्धित जिल्लाको इन्चार्ज, जिल्ला अध्यक्ष, प्रदेश कमिटी, उम्मेदवार, स्थानीय संगठन, चुनावी रणनीति, जनसम्पर्क र कार्यकर्ताको कार्यशैलीको कुनै जिम्मेवारी हुँदैन ? कति दयालाग्दो कमजोर र निरर्थक बहश ?
पार्टीबाट मन्त्री बनेको छ । पार्टीको निर्वाचन क्षेत्रको जिम्मेवारी सम्हालेको छ । जिल्लाको कमाण्ड उसको हातमा छ । निर्वाचन परिचालन कमिटीको संयोजक, आर्थिक कमिटीको संयोजक, प्रदेशको इञ्चार्ज र अध्यक्ष सवै पद लिएको छ । के निर्वाचन जिताउने उहाँहरूको जिम्मेवारी र दायित्व थिएन र हुँदैन ? यदि सफलताको श्रेय सबैले लिने हो भने असफलताको जिम्मेवारी पनि सबैले लिने साहस र आँट नगर्नु र अल्गोरिदमको तालमा मात्रै नाँच्नु भन्दा बेसरम कायरता के हुन सक्छ ? एमालेको जीवनमा देखापरेको संकट यस्ता सरल निष्कर्षले टार्न सकिदैँन । एउटा राजनीतिक दलको सफलता वा असफलता एउटै व्यक्तिमा सीमित हुँदैन । त्यसमा संगठन, जिम्मेवारीमा रहेका सबै नेताहरूको, नीति, कार्यशैली, जनविश्वास, स्थानीय नेतृत्व, राष्ट्रिय परिस्थिति र बाह्य राजनीतिक प्रभाव सबैको भूमिका हुन्छ ।
इतिहासको यो कठिन घडीमा हामीप्रति तेर्सिएका आन्तरिक र बाह्य प्रश्नहरू अर्कै थिए र छन् । तर बहशलाई पुनर्गठनमा केन्द्रीत गरेर प्रश्नहरूलाई बिषयान्तर गर्नु कतिसम्म न्यायसँगत कुरा हो ? समाज र अर्थ राजनीतिका प्रश्नहरूलाई सहजै लुकाएर पानीमाथिको ओभानो बन्न सकेकोमा नेताहरूलाई धन्यवाद भन्नै पर्दछ । तर हामी सबैले बुझ्नु पर्ने सत्य हो भने मुलुकप्रतिको राजनीतिक संघर्ष, पार्टीभित्रको आन्तरिक संघर्षभन्दा धेरै ठूलो, धेरै जटिल र धेरै बहुआयामिक हुन्छ । तर हामी त्यसको बाटो नखोजेर सतही र तर्कहीन बिषयमा समयको ववार्दी गरिरहेका छौं । एउटालाई दोष थुपारेर आफू उम्कन खोजिरहेका छौं । तर बस दुर्घटना हुँदा आफूमात्रै बाँच्छु भन्ने कल्पना यथार्थपरक होइन, यहाँ सवै मानिसहरू दुर्घटनामा पर्ने जोखिमलाई नजरअन्दाज गरिरहेका छौं । हामी एकता होइन् खण्डित बनेर विरोधीहरूलाई सहयोग गरिरहेका छौं ।
पार्टी नेतृत्व सबैको आस्थाको केन्द्र हो, त्यो त्यतिकै लहड वा रहरमा बन्ने बिषय होइन, एउटा विधि र पद्धति बाटै नेतृत्वको निर्माण हुन्छ । हिजो नेतृत्वकै कारण एमाले देशको सबैभन्दा ठुलो पार्टी बनेको होइन र ? नेतृत्वकै फेर समातेर धेरैपल्ट लाभको पद प्राप्त भएको होइन र ?आज देशी विदेशी स्वार्थको इसारामा कति पनि विचलित नभई देशको पक्षमाकाम गरेबापत हाम्रो नेतृत्वमाथि प्रहार भएको कुरा घामजतिकै छर्लङ छैन र ? तर यति सत्य जान्दाजान्दै, बुझ्दाबुझदै पनि नेतृत्वलाई कमजोर बनाउन खोज्नु कति न्याय र कति अन्याय ? यो मुलुकको पक्षमा कति र मुलुकको विपक्षमा कति ? के अहिलेको नेपाली समाज र एमालेजनले खोजेको राजनीति यही हो र ? बुझनेहरूले यो कुरा राम्रैसँग बुझेका छन तर बुझेर पनि बुझ पचाउनेहरूका लागि कसैको केही लाग्दैन । भीरजाने गाईलाई राम–राम मात्र भन्न सकिएला, काँध थाप्न सकिदैँन । यस्तो स्वार्थको राजनीति टिक्न र टिकाउन निकै कठिन नै होला नि कमरेड !
राजनीतिमा कुनै पनि दलको शक्ति केवल उसको संगठन, चुनावी परिणाम वा नेतृत्वमा मात्र सीमित हुँदैन । त्यो दलका कार्यकर्ता, शुभेच्छुक र समर्थकबीचको विश्वाश, एकता र आत्मसमीक्षाको क्षमताले पनि उसको भविष्य निर्धारण गर्छ । त्यो भन्दा वढी त्यसको नेतृत्वको ओजले निर्धारण गर्दछ । आज एमालेको नेतृत्वमाथि यति धेरै प्रहार किन भएको होला ? बलियो अडान भएर कि कमजोर भएर ? सत्य छर्लङग छ । तर हामी त्यो प्रहारलाई कसरी रोक्ने र त्यसको रक्षा कसरी गर्ने भन्ने बिषयमा बहश गरिरहेका छैनौं । हरेक जिम्मेवारहरूले आफ्ना कमजोरीलाई इमानदारीपूर्वक स्वीकार गर्ने परिपक्वता देखाउन सकिरहेका छैनौं । सामाजिक सञ्जालमा नेतृत्वलाई कमजोर बनाएर वागाली गरेर लोकप्रियता बढछ भन्ने मूर्खता त्याग्न सकिरहेका छैनौं ।
पार्टी नेतृत्व सबैको आस्थाको केन्द्र हो, त्यो त्यतिकै लहड वा रहरमा बन्ने बिषय होइन, एउटा विधि र पद्धति बाटै नेतृत्वको निर्माण हुन्छ । हिजो नेतृत्वकै कारण एमाले देशको सबैभन्दा ठुलो पार्टी बनेको होइन र ? नेतृत्वकै फेर समातेर धेरैपल्ट लाभको पद प्राप्त भएको होइन र ?आज देशी विदेशी स्वार्थको इसारामा कति पनि विचलित नभई देशको पक्षमाकाम गरेबापत हाम्रो नेतृत्वमाथि प्रहार भएको कुरा घामजतिकै छर्लङ छैन र ? तर यति सत्य जान्दाजान्दै, बुझ्दाबुझदै पनि नेतृत्वलाई कमजोर बनाउन खोज्नु कति न्याय र कति अन्याय ?

अहिलेको एमाले यो आत्मसमीक्षाको पाटो ओझेलमा पारेर आन्तरिक किचलोमा फसेको छ । आन्तरिक झमेलामा रुमलिएको पार्टीले बैरीको सामना गर्न सक्दैन । एमालेका लागि चुनौतिहरू मात्रै छैनन्, अवसरहरू पनि छन । तर पार्टी नेतृत्वलाई धारेहात लगाउँदा आफनो भागमा ठुलो फाईदा हात लाग्छ भन्ने संकीणता नत्याग्ने हो भने हामी सकिने इतिहासको मलामी मात्रै हुनेछौ । त्यहाँ बाख्रो हराइरहने छ, स्याल कराइरहने छ । मान्छे मरिरहने छ, काल पल्किरहने छ । यतिवेला पुर्नगठनको राप अलाप्नेहरूका अगाडि दुईवटा विकल्प रहेका छन, सक्किने कि नेतृत्वको रक्षा गर्दै देशका जीवन्त समस्याहरूको समाधान गर्ने ? पछिल्लो अवधिमा हुर्कदै गरेको अरुको खुट्टा काटेर आफू अग्लो हुने प्रवृतिलाई नसच्याउने हो भने त्यहाँ खरानीको राजनीति मात्रै बाँकी रहन्छ । त्यसबाट उठने राजनीतिको विकास हुन सक्दैन ।
नयाँ र पुरानाको नाममा प्रहारको सिलसिला शुरु भएको छ । एउटाको प्रहारमा अर्को रमाउने प्रवृतिले कसैलाई फाइदा पुग्दैन । बाह्य प्रहारमा आन्तरिक रमिताभन्दा यसको संगठित प्रतिकार पहिलो र अनिवार्य सर्त हो । त्यसैले यतिवेला मतभेदहरू त्याग्नै पर्दछ । आन्तरिक भ्रमहरू बन्दगर्दै बाहय प्रहारका अर्थ राजनीतिक कारणहरूको खोजी गर्नै पर्दछ । ओझेलमा पारिएको सत्यलाई उजागर गर्नै पर्दछ र संगठितरुपमा देश र पार्टीप्रति भएको र हुनसक्ने हमलाको प्रतिकार नै अहिलेको राजनीतिको बहशको केन्द्र बन्नु पर्दछ ।
काँचो फल खाएर पेट दुखेको औषधी गर्ने र कुम्भकर्ण निदमा सपना देखेर पद प्राप्तिका लागि अल्गोरिदमको भाषा बोल्दै चलाईएका नेतृत्व परिवर्तन र हस्तान्तरणका अर्थहीन बहशहरूमा अव पूर्णविराम लाग्नै पर्दछ । देशका चुनौतीहरूको पहिचान गर्दै त्यसलाई परास्त गर्न मुलुकको समाज, राजनीति र अर्थतन्त्रलाई लयमा हिडाउन आन्तरिक एकतालाई बलियो बनाउनै पर्दछ । यो समय पुनर्गठनका नाममा एकअर्काप्रति आरोप लगाउने समय होइन, आत्मबोधको सयम हो भनेर हामी सबैले बुझनै पर्दछ । नेतृत्वको आडमा अतितमा गरिएको सवैखाले बदमासी अव दोहोर्याउन्न भन्ने संकल्प चाहिन्छ । नेतृत्वको वरिपरि गोलबन्द भएर बिरोधीलाई तह लगाउने अठोट चाहिन्छ । शत्रुको इसारामा आफ्नो घरमा आगो लगाएर आफूबाहेक सवै मार्ने योजनाको पूर्णतः परित्याग चाहिन्छ ।













प्रतिक्रिया दिनुहोस्