काठमाडौं, असार १२ । बालेन्द्र शाह नेतृत्वको सरकारका आठ जना मन्त्री सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ । तर श्रममन्त्री रामजी यादव भने केन्द्रीय सदस्यको निर्वाचनमा पराजित हुनुभएको छ ।
रास्वपाको सम्पन्न महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य निर्वाचनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र परराष्ट्रमन्त्री शिशिर खनालले सबैभन्दा बढी मत प्राप्त गर्दै शीर्ष स्थानमा विजयी हुनुभएको हो ।
निर्वाचित हुने अन्य मन्त्रीहरूमा बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, सीता वादी, निशा मेहता र गीता चौधरी रहनुभएको छ । यससँगै बालेन सरकारका आठ मन्त्री पार्टीको केन्द्रीय समितिमा निर्वाचित हुन सफल हुनुभएको हो ।
यता, सरकारका अन्य ६ जना मन्त्रीले भने केन्द्रीय सदस्यको निर्वाचनमा उम्मेदवारी नै दिनुभएन । प्रधानमन्त्री बालेन्द्र शाहलाई भने चुनाव बिनानै वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको छ ।
गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री खडकराज पौडेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल तथा उद्योगमन्त्री गौरीकुमारी यादवले निर्वाचनमा प्रतिस्पर्धा नगर्नुभएको हो । पार्टी विधानअनुसार उहाँहरूलाई पछि मनोनित केन्द्रीय सदस्य बनाउने सम्भावना रहेको छ ।
तर श्रममन्त्री रामजी यादवका लागि भने महाधिवेशनको नतिजा अपेक्षाअनुसार आएन । खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवारी दिनुभएका उहाँले ८६९ मत मात्र प्राप्त गर्नुभयो र निर्वाचित हुन सक्नुभएन । केन्द्रीय सदस्यमा विजयी भएका अन्य मन्त्रीहरूले १ हजार ५ सयभन्दा बढी मत प्राप्त गरेका बेला यादवको मत निकै कम रह्यो ।
श्रममन्त्रीको पराजयसँगै अब उहाँले नैतिक जिम्मेवारी स्वीकार गर्दै मन्त्री पदबाट राजीनामा दिनुहुन्छ वा प्रधानमन्त्रीले उहाँलाई निरन्तरता दिनुहुन्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोका रूपमा हेरिएको छ । यद्यपि यसबारे सरकार वा स्वयं मन्त्री यादवको तर्फबाट कुनै औपचारिक धारणा सार्वजनिक भएको छैन।













प्रतिक्रिया दिनुहोस्