काठमाडौं, असार १२। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी रहेकै कारण प्रतिनिधिसभाको बैठक लगातार तेस्रो पटक स्थगित गरिएको छ। संसद् बैठक पटक–पटक सूचना टाँसेर सारिँदा व्यवस्थापिकाको नियमित कार्यसम्पादनमाथि नै प्रश्न उठ्न थालेको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा शुक्रबार दोस्रो सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अब आइतबार बिहान ११ बजे बस्ने जानकारी दिनुभएको हो।
यसअघि शुक्रबार बिहान जारी गरिएको सूचनाअनुसार दिउँसो १ बजेका लागि तय गरिएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर त्यसपछि पुनः अर्को सूचना जारी गर्दै बैठक आइतबारका लागि सारिएको हो।
यसअघि बिहीबार बस्ने तय भएको प्रतिनिधिसभाको बैठक पनि सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो। यससँगै रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक लगातार तीन पटक स्थगित भएको छ।
रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ। महाधिवेशनमा पार्टीका अधिकांश सांसद तथा नेताहरू व्यस्त रहेकाले संसद् बैठक सञ्चालन प्रभावित भएको बताइएको छ।
सत्तारुढ दलको आन्तरिक कार्यक्रमका कारण संसद्को नियमित कार्यसूची प्रभावित हुनु व्यवस्थापिकाको गरिमासँग जोडिएको विषय भएको भन्दै राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू भइरहेका छन्। यद्यपि संसद् सचिवालयले बैठक स्थगित हुनुको औपचारिक कारण भने ‘विशेष कारण’ मात्र उल्लेख गरेको छ।













प्रतिक्रिया दिनुहोस्