जनता टाइम्स

१२ असार २०८३, शुक्रबार २०:२४

रविको नेतृत्वमा यस्तो छानियो रास्वपाको पदाधिकारी टीम


काठमाडौं, असार १२ । सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत छानेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट निर्वाचित ७ पदाधिकारीको टुंगो लागेको छ ।

उपाध्यक्ष खुल्लातर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निर्बिरोध बन्दा उपसभापति (महिला) मा सोविता गौतम निर्वाचित हुनुभएको छ । शुक्रबार भएको दोश्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित हुनुभएको हो । निर्वाचित गौतम सभापति रबि लामिछाने निकट हुनुहुन्छ भने पराजीत कार्की प्रधानमन्त्री बालेन शाह निकट रहनुभएको छ ।

निर्वाचनमा महामन्त्रीमा पनि सभापति रविका बिश्वासपात्र विपीन आचार्य निर्वाचित हुनुभएको छ । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उमेदवार हुनुहुन्थ्यो । सुरुमा आठ जना उम्मेद्वार रहेपनि अरु उम्मेद्वारले आचार्यलाई सघाउने घोषणासहित उम्मेद्वारी फिर्ता लिएका थिए ।

यस्तै सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ भने महिलामा निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचितमध्ये असिम प्रधानमन्त्री बालेनका बिश्वाशपात्र हुनुहुन्छ । पदाधिकारी ७ जनामा सहमहामन्त्री असिम शाहबाहेक सवै सभापति लामिछाने निकट हुनुहुन्छ । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।