पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई नेता मानेर चार जना पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उभिने भएका छन । एमाले अध्यक्ष केपी ओली, नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव र झलनाथ असार १४ गते एउटै मञ्चमा उभिन लाग्नुभएको हो । नेकपा बिभाजनपछि चार नेता एकै मञ्चमा उभिन लागेको यो पहिलो पटक हो
काठमाडौं, असार १२ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन् ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपाल सहभागी हुने जनाइएको छ । असार १४ गते राष्ट्रिय सभागृहमा दिउँसो १ः३० बजे सुरु हुने कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि कम्युनिस्ट एकताको चर्चा चलिरहेका बेला शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुन लागेका हुन् । पछिल्लो समय विद्या भण्डारीको नेतृत्वमा एमाले र नेकपाबीच एकताको बहस चलिरहेको छ ।
यसअघि विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग तत्काल पार्टी एकता सम्भव नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने तयारी भइरहेको बताउनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्