चितवन, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनमा केही कमजोरी भएको स्वीकार गर्दै त्यसबाट पाठ सिकेर पार्टीलाई थप जिम्मेवार र परिपक्व ढङ्गले अघि बढाइने बताउनुभएको छ।
शुक्रबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उहाँले महाधिवेशनले रास्वपा माथि लाग्दै आएको ‘विचारविहीन पार्टी’ भन्ने आरोपलाई खारेज गरेको दाबी गर्नुभयो। अब पार्टी अझ सचेत, जिम्मेवार र वैचारिक रूपमा स्पष्ट भएर अघि बढ्ने उहाँको भनाइ थियो।
‘महाधिवेशनमा केही कमजोरी भए, ती कमजोरीबाट पाठ सिक्दै हामी अघि बढ्छौँ,’ उहाँले भन्नुभयो, ‘अब पार्टीभित्र मित्रताको उचाइलाई हिजोभन्दा माथि उठाउनुपर्छ।’
लामिछानेले रास्वपाका नेता तथा सांसदहरूले आफ्नो व्यवहार र अभिव्यक्तिमा थप परिपक्वता देखाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। राजनीतिक रूपमा आफूहरूले अपेक्षित स्तरको परिपक्वता देखाउन नसकेको स्वीकार गर्दै उहाँले अब अध्ययन नगरी बोल्ने छुट कसैलाई नरहेको स्पष्ट पार्नुभयो।
‘अब हामीलाई अध्ययन नगरी बोल्ने छुट छैन। हामी धेरै परिपक्व भइसकेका छौँ। जिम्मेवारी धेरै छन्। सानो अभिव्यक्तिले पनि ठुलो विवाद निम्त्याउन सक्छ। त्यसैले सबैले विशेष ख्याल गर्नुहोस्,’ उहाँले नेता तथा सांसदहरूलाई निर्देशन दिनुभयो।
उहाँले हरेक नेता र सांसद जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै रास्वपाको देशभक्तिमाथि कुनै शङ्का नगर्न आग्रह गर्नुभयो। रास्वपाको राजनीतिक अभिव्यक्तिका कारण देशका बुद्धिजीवी, देशभक्त तथा सञ्चारकर्मी भयभीत हुन नहुने भन्दै उनीहरूलाई निर्धक्क बनाउने जिम्मेवारी पार्टीकै रहेको उहाँको भनाइ थियो। ‘हरेक नेता जिम्मेवार हुनुपर्छ, हरेक सांसद जिम्मेवार हुनुपर्छ,’ उहाँले भन्नुभयो।
सरकार सञ्चालनका क्रममा लोकतन्त्रको मर्म र संवैधानिक संस्थाहरूको गरिमा जोगाउनुपर्नेमा जोड दिँदै उहाँले नागरिकको समृद्धिलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
सम्बोधनका क्रममा लामिछानेले महाधिवेशनमा सहभागी हुन आएका आमन्त्रित अतिथिहरूप्रति सम्मान व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनका क्रममा कुनै कमी कमजोरी भएको भए क्षमा पनि माग्नुभयो। ‘केही तिता–मिठा कुरा भए। हाम्रोतर्फबाट उहाँहरूको सम्मानमा कहीँ कुनै कमी भएको रहेछ वा उहाँहरूलाई अपमान हुने कुनै कुरा भएको रहेछ भने पार्टी सभापतिको तर्फबाट म क्षमा चाहन्छु,’ उहाँले भन्नुभयो।
महाधिवेशन सम्पन्न भएसँगै पार्टीलाई संगठनात्मक रूपमा थप सुदृढ, वैचारिक रूपमा स्पष्ट र सार्वजनिक अभिव्यक्तिमा जिम्मेवार बनाउनाएकाे उहाँले बताउनुभयाे । उहाँले महाधिवेशनलाई रास्वपाको नयाँ राजनीतिक यात्राको सुरुआतका रूपमा चित्रण गर्दै आगामी दिनमा पार्टीले विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्