जनता टाइम्स

१३ असार २०८३, शनिबार ०९:४८

सरकारको नीति जनविरोधी र श्रमिकमारा : कुलमान घिसिङ


रामेछाप, असार १३ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले अवलम्बन गरेका आर्थिक तथा सामाजिक नीतिहरू जनहित विपरीत रहेको टिप्पणी गर्नुभएको छ। उहाँले विद्युतीय सवारीसाधनमा कर वृद्धि, शिक्षा र स्वास्थ्य क्षेत्रमा भ्याट लगाउने निर्णय तथा श्रमिकमैत्री नीति अभावले सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको बताउनुभयो।

मन्थलीमा पत्रकार तथा नागरिक अगुवासँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले पेट्रोल र डिजेलको प्रयोग घटाउन तथा स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बेला सरकारले विद्युतीय सवारीसाधनमा थप कर लगाएर गलत सन्देश दिएको बताउनुभयो। ‘सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने थियो, तर उल्टै कर लगाएर विपरीत दिशामा अघि बढेको छ,’ उहाँले भन्नुभयो।

उहाँले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयलाई पनि जनविरोधी नीति भएको उल्लेख गर्नुभयो। यस्तो व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणापत्रको मर्मसँग समेत मेल नखाने उहाँको दाबी थियो। ‘करको दर एक प्रतिशत नै किन नहोस्, नीतिगत कुरा हो’ उहाँले भन्नुभयो।

अध्यक्ष घिसिङले वर्तमान सरकारले श्रमिकको हितलाई बेवास्ता गरेको आरोप पनि लगाउनुभयो। श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि नगरेको उल्लेख गर्दै उहाँले सरकार श्रमिकको पक्षमा उभिन नसकेको धारणा राख्नुभयो।

बजेट निर्माण प्रक्रियाबारे टिप्पणी गर्दै उहाँले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बजेट हेरफेरको आरोपमा राजीनामा दिन बाध्य बनाइएको प्रसङ्ग स्मरण गर्नुभयो। तर अहिलेका अर्थमन्त्रीले भने सार्वजनिक रूपमै बजेटका दर हेरफेर गरेको स्विकारेको भन्दै त्यसप्रति सरकारले जबाफदेही हुनुपर्ने उहाँको भनाइ थियो।

सरकारले नागरिकमा भरोसा र आशा जगाउन नसकेको उल्लेख गर्दै अध्यक्ष घिसिङले नागरिकमा आत्मविश्वास नबढेसम्म देशभित्रै बसेर केही गरौँ भन्ने वातावरण निर्माण हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। यसो नहुँदासम्म विदेश जाने क्रम नरोकिने उहाँको धारणा छ ।