जनता टाइम्स

१३ असार २०८३, शनिबार १४:३०

सैपु स्वास्थ्य चौकीमा सुविधा विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाबाट स्थानीय लाभान्वित


रामेछाप, असार १३। रामेछापकाे लिखु तामाकोशी गाउँपालिका–२ सैपुस्थित स्वास्थ्य चौकीले पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधार र सेवा प्रवाह दुवै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। सुविधासम्पन्न भवन, व्यवस्थित सेवा र नियमित औषधि उपलब्धताले स्थानीय नागरिकलाई आफ्नै गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने वातावरण बनेको छ।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेसँगै संघ, प्रदेश र स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका छन्। त्यसकै परिणामस्वरूप सैपु स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र, बिरामी जाँच तथा उपचार कक्ष, स्वास्थ्यकर्मीका लागि आवासलगायत आवश्यक संरचनाहरू निर्माण गरिएका छन्।

स्वास्थ्य चौकीले नियमित रूपमा निःशुल्क औषधि वितरणसँगै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। बाहिरबाट आकर्षक देखिने भवनभित्र पनि सफा, व्यवस्थित र सेवामैत्री वातावरण रहेको छ। उपचारका लागि पुग्ने सेवाग्राहीले सहज र आत्मीय वातावरणमा सेवा पाउने गरेका छन्।

स्वास्थ्य चौकीका इञ्चार्ज रुपेशकुमार यादवका अनुसार स्वास्थ्य संस्थाबाट निरोधात्मक तथा उपचारात्मक दुवै प्रकारका स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्। उहाँले २४ घण्टे प्रसूति सेवा उपलब्ध गराइनुका साथै विद्यालय तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमसमेत नियमित सञ्चालन भइरहेको जानकारी दिनुभयो।

२०७२ सालको भूकम्पपछि स्वास्थ्य पूर्वाधार निर्माणले गति लिएको सैपुमा सुरुमा प्रसूति गृह र स्वास्थ्यकर्मी आवास निर्माण गरिएको थियो। त्यसपछि स्वास्थ्य चौकीको मुख्य भवन निर्माण गरी नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको वडा नं. २ का अध्यक्ष सन्तोष पौडेलले बताउनुभयो।

स्थानीय सरकारको लगानी र निगरानी, स्वास्थ्यकर्मीको सक्रियता र समुदायको सहयोगका कारण सैपु स्वास्थ्य चौकी ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नमुना संस्थाका रूपमा स्थापित हुँदै गएको छ।