जनता टाइम्स

३ पुष २०७६, बिहीबार ११:०६

नेकपाको स्थायी कमिटीमा आजबाट सदस्यले धारणा राख्नेक्रम सकिने


काठमाडौं, पुष ३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा आज सदस्यले बोल्ने क्रम सकिने भएको छ । बैठकमा पार्टी अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि आज पनि स्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यहरुले विचार राख्नेछन् ।

बैठकको चौथो दिनसम्म ३७ जना सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् । उहाँहरुले प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावसहित धारणाहरु राखिरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयहरुमा आ–आफ्नो कोणबाट सदस्यहरुको भनाई केन्द्रीत छ ।

४५ सदस्यीय स्थायी कमिटीमा सदस्यले धारणा राखेपछि अध्यक्षले उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । अध्यक्षले समय पुगे आजै र नपुगे भोली जवाफ दिएर बैठक सक्ने तयारी भईरहेको नेताहरुले बताएका छन् । स्थायी कमिटीको बैठक गत आइतवारदेखी पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको छ ।