दाङ, असार १३ । दाङकी २६ वर्षिया कमला खड्का वली हत्या प्रकरणमा नेपाल सरकारका लेखा अधिकृत रहेका श्रीमानसहित चार जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
तुलसीपुर उपमहानगरपालिका–१९ की कमलाको हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो । उच्चले जिल्ला अदालत दाङको आदेशलाई बदर गर्दै गोपाल वलीका बुवा कर्णबहादुर वली, भाउजू टीका केसी र बहिनी पुतला वलीलाई समेत थुनामा राख्न आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत दाङले श्रीमान गोपाल वलीलाई मात्रै थुनामा पठाउन आदेश गरेको थियो भने बुबा कर्णबहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला वलीलाई धरौटीमा छोड्न आदेश गरेको थियो । सो आदेशबिरुद्ध पीडित पक्षले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार अन्य तीन जनालाई पनि पुर्पक्षकालागि थुनामा राख्न आदेश गरेको हो ।
उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार उपलब्ध प्रमाण र घटनाको प्रकृतिलाई आधार मानेर सबै प्रतिवादीलाई थुनामै राखी मुद्दाको अन्तिम टुङ्गो लगाउनुपर्ने निष्कर्ष निकालेको छ। अदालतले जिल्ला अदालतको आदेशलाई ‘बेरितको’ ठहर गरेको छ।
तुलसीपुर उपमहानगरपालिका–१९ की २६ वर्षिया कमलामाथि गत चैत १२ गते बेलुका घरको भान्साकोठामा कुटपिट भइरहेको बेला घरमै रहेका परिवारका अन्य सदस्यले बचाउने प्रयास नगरेको आरोप सुरुदेखि नै लाग्दै आएको थियो । स्थानीयका अनुसार कमला र उनका नाबालक छोराछोरीले हारगुहार गरे पनि कसैले बचाउने प्रयाश गरेनन । छिमेकीहरू उद्धारका लागि घरभित्र प्रवेश गर्न खोज्दा समेत गोपालका बुबा कर्णबहादुर वली छतमा लाठी लिएर उभिएको र कसैलाई घरभित्र जान नदिएको आरोप पनि स्थानीयले लगाएका थिए । प्रहरी अनुसन्धानका क्रममा सो आरोप सत्य देखिएको थियो ।
गम्भीर घाइते बनेकी कमलालाई उनका नाबालक छोराले घिसार्दै घरबाहिर ल्याएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कमला र गोपालका एक छोरा र एक छोरी छन् । अदालतले आफ्नो आदेशमा शव परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का, प्रत्यक्षदर्शी तथा बालबालिकाको बयानलाई महत्वपूर्ण प्रमाणका रूपमा लिएको छ ।
शव परीक्षण प्रतिवेदनमा टाउकोमा लागेको गहिरो चोटका कारण कमलाको मृत्यु भएको उल्लेख छ। घटनास्थलबाट चारवटा चारपाटे दाउराका टुक्रा बरामद भएको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले आधार बनाएको छ।
उच्च अदालतको पछिल्लो आदेशसँगै अब चारै जना प्रतिवादीले थुनामै बसेर मुद्दाको अन्तिम फैसला कुर्नुपर्ने भएको छ। कमलाको हत्या गत चैत १२ गते तुलसीपुर–१९ स्थित आफ्नै घरमा भएको थियो ।













प्रतिक्रिया दिनुहोस्