काठमाडौं, असार १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ ताेसिमा कार्कीले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा आफूलाई साथ, विश्वास र समर्थन गर्ने सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पार्टीको आवाज बनेर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पार्टी उपसभापति पदमामा पराजित भए पछि कार्कीले प्रतिकृया जनाउँदै आफ्नो प्रतिवद्धता जाहेर गर्नु भएकाे हाे । पार्टी केन्द्रीय सदस्यमा विजय हाँसिल गरे पछि उपसभापतिमा प्रतस्पर्धा गर्नु भएकी कार्की उपसभापति पदमा भने साेविता गाैतमसँग पराजित हुनुभएकाे थियाे । महाधिवेशन सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले महाधिवेशनका क्रममा प्राप्त भएको माया, विश्वास र सहयोगले आफूलाई थप जिम्मेवार र भाग्यमानी महसुस गराएको बताउनुभएकाे छ ।
उहाँले प्रतिनिधि, पर्यवेक्षक, ‘जेन्जी’ युवा, घण्टीमित्र तथा पार्टीका शुभेच्छुकहरूले सात दिनसम्म घाम, पानी, हिलो र गर्मीको प्रवाह नगरी धैर्यतापूर्वक महाधिवेशनमा सहभागी भई देखाएको समर्पण जीवनभर अविस्मरणीय रहने उल्लेख गर्नुभयो।
महाधिवेशनको पहिलो चरणमा सदस्यकाे लागि खसेको २ हजार ९६९ मतमध्ये २ हजार ३०२ मत तथा दोस्रो चरणमा महिला उपसभापतिकाे लागि खसेको १ हजार ३६१ मतमध्ये ५ सय ७२ मत प्राप्त भएको उल्लेख गर्दै उहाँले आफूलाई मत दिने सबै प्रतिनिधिप्रति अन्तरात्मादेखि नै कृतज्ञता व्यक्त गर्नुभएको छ।
रास्वपाको पहिलो महाधिवेशनलाई ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गर्दै उहाँले महाधिवेशनभर प्रतिनिधि तथा कार्यकर्ताले प्रदर्शन गरेको उत्साह, ऊर्जा, धैर्यता, सहिष्णुता र सद्भाव प्रशंसनीय रहेको बताउनुभयो। उहाँले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्य तथा पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ।
डा. कार्कीले पार्टी स्थापनाकालदेखि संगठन निर्माण र सुदृढीकरणमा दिनरात खटिएकाकाे योगदानको पनि उच्च प्रशंसा गर्नुभएकाे छ। उहाँले बलियो संगठन, निडर नेतृत्व र स्पष्ट विचारप्रति आफू सदैव प्रतिबद्ध रहने उल्लेख गर्दै महाधिवेशनमा प्राप्त विश्वासलाई आगामी दिनमा अझ जिम्मेवारीपूर्वक कार्यसम्पादनमार्फत सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । ‘महाधिवेशनको यो यात्रामा तपाईंहरूको अथाह माया, साथ र विश्वासको साक्षी बन्न पाउनु मेरा लागि गर्वको विषय हो, म पार्टीको आवाज हुँ, रहिरहनेछु,’ उहाँले भन्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्