काठमाडौं, असार १३ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा निधन भएको छ।
स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा पर्दा उहाँको निधन भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उपप्रमुख राना मगर आफैँले जिप चलाइरहनुभएको बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटना भएको खुलेको छ।
उहाँका अनुसार उपप्रमुख राना मगर नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्कनुभएको बेला दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्