काठमाडौं, असार १४ । रास्वपाको पहिलो महाधिवेशनमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषय प्रतिनिधि सभामा उठेको छ।
नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाले कानुनविपरीत बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
सांसद काउँचाले रास्वपाले पार्टीमा ३५ हजार २५७ जना सदस्य १८ वर्षमुनिका बालबालिका रहेको भन्दै प्रश्न गरेकी छिन्। उनले रास्वपाको कुल सदस्य संख्या मध्ये करिब ६ दशमलव ७ प्रतिशत सदस्य बालबालिका रहेको बताउनु भयो ।
उहाँले नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार १८ वर्ष नपुगेका व्यक्तिलाई राजनीतिक दलको सदस्य बनाउन नमिल्ने व्यवस्था रहेको बताउनु भयो । यस्तो कार्य गरेमा ८० हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको सजाय हुने कानुनी व्यवस्था रहेको भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘के सत्तारूढ दल रास्वपाको हकमा संविधान र ऐन आकर्षित हुँदैन ? कि रास्वपा संविधानभन्दा माथि छ र उसले संविधान नमाने पनि हुने हो ?’
सांसद काउँचाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा (७) ले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको भन्दै रास्वपाले बालबालिकालाई सदस्य बनाउनु र राजनीतिक गतिविधिमा प्रयोग गर्नु कानुनविपरीत भएको बताउनु भयो ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा दलको सदस्यताको योग्यतासम्बन्धी व्यवस्था गरिएको छ भने बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्ति बालबालिका मानिने कानुनी व्यवस्था छ।













प्रतिक्रिया दिनुहोस्