जनता टाइम्स

१५ असार २०८३, सोमबार ०९:१३

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना


काठमाडौं, असार १५ । आजबाट देशभर मनसुन पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मनसुन पुग्न बाँकी रहेका गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानमा पनि मनसुनी वायु सोमबार वा मंगलबारसम्म विस्तार हुने सम्भावना देखिएको हो।

महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भाग, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानसम्म मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।

मौसम महाशाखाका अनुसार देशभर साधारणतया बादल बादल लागेको छ। लुम्बिनी प्रदेशका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका केही स्थान, कोसी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

यस्तो छ आज वर्षाको सम्भावना

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोसी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।