काठमाडौं, असार १५ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाललाई तिखो प्रश्न गर्नुभएको छ ।
नेतृत्वले पहिला पार्टी फुटाएर गरेको गल्तीप्रति आत्मालोचना नगरी फेरि वामपन्थी एकताको चर्चा सुरु गरिएको भन्दै गोकुलले असन्तुष्टिसहित प्रश्न गर्नुभएको हो । सोमबार बिहान सामाजिक सञ्जालमा उहाँले पार्टी एकताको चर्चा गर्नुअघि पहिलाको गल्तीप्रति आत्मालोचना गर्न र नेतृत्व छाड्न पनि नेताहरूलाई सुझाव दिनुभएको छ ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले एउटै मञ्चबाट फेरि पनि वामपन्थी शक्तिहरू मिल्नुपर्ने धारणा सार्वजनिक गरेको सन्दर्भमा बाँस्कोटाको यस्तो भनाई आएको हो।
‘पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। भयंङकर खतरा देखाउँदै नेतृत्ववाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो,’ बाँस्कोटाले भन्नुभएको छ, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’













प्रतिक्रिया दिनुहोस्