जनता टाइम्स

१५ असार २०८३, सोमबार १९:५०

ट्राफिकले हटायो गृहमन्त्री र सचिवकै गाडीको कालो सिसा


काठमाडौं, असार १४ । उपत्याका ट्राफिकले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको गाडीको कालो सिसा हटाएको छ ।

गृहमन्त्री गुरुङ र सचिव श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमवार हटाएको हो । कालो सिसाको स्टिकर हटाउन डीएसपी सुनिलजंग शाह सिंहदरबार पुग्नुभएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले ट्राफिक प्रहरीलाई बोलाएर कालो सिसा हटाउन लगाइएको बताउनु भयो । गृहमन्त्री गुरुङ आफैले कानून सवैलाई बरावर रहेको भन्दै आफ्नो सवारीको पनि कालो सिसा हटाउन निर्देशन दिनुभएको थियो ।

ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर आइतबार देखी हटाइरहेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउने अभियान नै सुरु गरिएको छ ।

गृहमन्त्री गुरुङले सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर आफ्नो गाडीको सिसा पनि हटाउन भन्नुभएको थियो । गृहमन्त्रीले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि अभियान चलाइएको हो । गाडीमा कालो सिसा राख्दा आपराधिक कार्य हुने गरेको सुरक्षा निकायको दावी छ ।