काठमाडौं, असार १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाइ क्षेत्र सुधारका लागि सरकारले तत्काल ठोस हस्तक्षेप गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ।
सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले नेपालको हवाइ उद्योग अपेक्षाअनुसार सुधार हुन नसकी झन् चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै सरकार आफैँले ठूलो लगानी गरेर तत्काल समाधान निकाल्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
मन्त्री पौडेलले नेपाल भूपरिवेष्ठित मुलुक भएकाले पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि हवाइ क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। तर, पर्यटक आगमन बढाउने लक्ष्यअनुसार हवाइ क्षेत्रको विकास हुन नसकेको उहाँको भनाइ थियो।
“हामीले धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेका छौँ। त्यसअनुसार नीति र योजना पनि बनाइरहेका छौँ। तर हवाइ क्षेत्रको अवस्था हेर्दा अपेक्षित सुधार देखिँदैन। सेवा प्रदायक कम्पनीहरूबाट पनि गुनासा धेरै आएका छन्। सुधार हुँदै जानुको सट्टा अवस्था झन् जटिल बन्दै गएको महसुस भएको छ,” उहाँले भन्नुभयो।
मन्त्री पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनाको अनुभवले हवाइ क्षेत्र निकै जटिल रहेको अनुभूति भएको उल्लेख गर्दै चुनौतीका बाबजुद सुधारका लागि आवश्यक पहल जारी रहने बताउनुभयो।
उहाँले पर्यटन उद्योगको दिगो विकासका लागि हवाइ क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउनै पर्ने आवश्यकता औँल्याउँदै युरोपेली संघ (ईयू) ले नेपाली वायुसेवामाथि लगाएको उडान प्रतिबन्ध हटाउन आवश्यक नीतिगत, कानुनी तथा सुरक्षासम्बन्धी मापदण्ड पूरा गर्ने काम सरकारले अघि बढाइरहेको जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्