जनता टाइम्स

१६ असार २०८३, मंगलवार १९:४३

बिश्वकपमा हारसँगै यी प्रशिक्षकले दिए ठाउँका ठाउँ राजीनामा


काठमाडौं, असार १६ । फिफा विश्वकप २०२६ को समूह चरणको खेलमा चर्चित राष्ट्रको हारसँगै प्रशिक्षक बर्खास्तदेखि राजीनामासम्म घटनाहरू धमामध आइरहेका छन । बलियो रहे पनि नकआउट चरणमा पुग्न नसकेका केही प्रशिक्षकहरुले पदबाट दिएको राजीनामाले यतिबेला चर्चा पाइरहेको छ ।

समूह चरणबाट नै टोली बाहिरिएपछि केही प्रशिक्षकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् भने केहीलाई सम्बन्धित फुटबल संघले नै हटाएको छ । विश्वकपको समूह चरणबाट बाहिरिएपछि विश्वकपको समूह चरणबाटै बाहिरिएपछि स्कटल्यान्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पद त्यागे ।

प्रशिक्षक क्लार्कले यसअघि नै टोली नकआउटका लागि छनोट नभएमा छाड्ने योजनामा रहेको बताएका थिए । ६२ वर्षीय क्लार्कले ब्राजिल, मोरक्को र हाइटी भएको समूहबाट नकआउटमा पुग्न नसकेपछि टोली छाडेको बताएका हुन । उनले ७ वर्ष स्कटल्यान्डको टोली हेरेका थिए । प्रशिक्षक क्लार्कले युरो २०२८ र २०३० को विश्वकप हेर्ने गरेर चार वर्षको सम्झौतामा हस्ताक्षर गरेको एक महिनापछि नै टोलीबाट हट्ने निर्णय गरेका हुन ।

समुह चरण पार गर्न नसकेपछि चेक रिपब्लिकका मुख्य प्रशिक्षक मिरोस्लाभ कुबेकले पनि राजीनामा दिएका छन । विश्वकप आयोजक मेक्सिकोसहित दक्षिण अफ्रिका, दक्षिण कोरिया रहेको समूह ‘ए’मा रहेको चेक रिपब्लिक अंक तालिकाको पुछारमा रहेर बाहिरिएको थियो । समूह चरणमा चेक रिपब्लिकको केवल एक अंक रह्यो ।

७४ वर्षीय कुबेकले नै टोलीलाई २० वर्षपछि विश्वकपमा फर्काएका थिए । पछिल्लो पटक सन् २००६ मा विश्वकप खेलेको चेक रिपब्लिक २० वर्षपछि फर्किदा समूह चरणबाटै बाहिरियो । चेक रिपब्लिकको फुटबल संघका अध्यक्ष डेभिड टुन्डाले व्यक्तिगत भेटघाटमा कुबेकले पद छाड्ने निर्णय गरेको र आफूले त्यसलाई स्वीकार गरेको जानकारी दिएका छन ।

विश्वकपको समूह चरणबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङ–बोले पनि राजीनामा दिएका छन । दक्षिण कोरियाका राष्ट्रपतिले प्रशिक्षकलाई अक्षम भन्दै राष्ट्रिय टोलीको प्रदर्शनको अनुसन्धान गर्नसमेत आदेश दिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन । ५७ वर्षीय होङले मेक्सिकोको शिविर छाड्नुअघि कोरियाली समर्थकसँग माफी माग्दै राजीनामा घोषणा गरेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि होङ प्रशिक्षक थिए । सो समयमा पनि दक्षिण कोरिया समूह चरण पार गर्न बिफल बनेको थियो ।

यस्तै विश्वकपको समूह चरणमा नै नेदरल्यान्ड्ससँग ३-१ को हार व्यहोरेपछि ट्युनिसियाका प्रशिक्षक हर्भे रेनार्डले टोली छाड्नुपरेको थियो । त्यसअघि स्विडेनसँग ५-१ को हारपछि साब्री लामोचीलाई टोलीले बर्खास्त गरेको थियो । त्यसो त बिश्वकपमा आश्चर्यजनक नतिजा आइरहँदा अन्य कति प्रशिक्षकले टीम छाडनु पर्ने हो एकिन हुन सकिरहेको छैन ।