काठमाडौं, असार १७ । किलियन एमबाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत स्वीडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
न्युयोर्क–न्युजर्सी स्टेडियममा मंगलबार राति भएको खेलमा फ्रान्सले सुरुदेखि नै दबाब कायम राख्यो। पहिलो हाफको अन्तिम समयमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसअघि एमबाप्पे र माइकल ओलिसेका प्रहार पोस्टमा लागेर फर्किएका थिए।
दोस्रो हाफको ५३औँ मिनेटमा ओलिसेको पासमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। ७४औँ मिनेटमा पुनः ओलिसेकै पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए।
यो खेलमा दुई गोल गरेसँगै फ्रान्सका कप्तान एमबाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याएका छन्। उनी गोल्डेन बुटको दौडमा लियोनेल मेसीसँग बराबरीमा पुगेका छन्।
यस्तै, विश्वकप इतिहासमा एमबाप्पेको कुल गोल संख्या १८ पुगेको छ। अब उनी मेसीको १९ विश्वकप गोलको कीर्तिमानभन्दा केवल एक गोलले मात्र पछाडि छन्।
यस जितसँगै फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले आगामी शनिबार दक्षिण अमेरिकी टोली पराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।
यता, भिक्टर ग्योकेरेस, अलेक्ज्याण्डर इसाक र एन्थनी एलाङ्गासहित मैदान उत्रिएको स्वीडेनले फ्रान्सको बलियो रक्षापंक्तिविरुद्ध प्रभावशाली अवसर सिर्जना गर्न सकेन र प्रतियोगिताबाट बाहिरिएको छ।













प्रतिक्रिया दिनुहोस्