जनता टाइम्स

१८ असार २०८३, बिहीबार ०९:०३

विश्वकप: खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि‘


काठमाडौं,  असार १८ ।  फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा जारी रोमाञ्चक खेलको बीचमै सुरक्षा घेरा तोडेर दर्शकहरू मैदानभित्र प्रवेश गरेपछि खेल केही बेर बिथोलिएको छ।

खेल चलिरहेकै अवस्थामा एकसाथ तीनजना व्यक्ति सुरक्षाकर्मीको आँखा छल्दै मैदानभित्र दौडिएका थिए। दर्शक एक्कासि मैदान छिरेपछि खेललाई झन्डै एक मिनेट रोक्नुपरेको थियो। मैदानभित्र जथाभाबी दौडिरहेका ती व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

विश्वकपजस्तो खेलकुदको महाकुम्भमा सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा बनाइएको हुन्छ। विश्वकप दौरान यसरी खेलको मर्यादाविपरीत अनुमतिविना मैदान छिर्नेलाई कडा कानुनी कारबाही र रंगशाला प्रवेशमा आजीवन प्रतिबन्धसम्मको प्रावधान छ।

यस्तो कडा नियमका बाबजुद एकैपटक तीनजना व्यक्ति मैदान छिर्नुलाई रंगशालाको सुरक्षा व्यवस्थामाथि चुनौतीका रूपमा हेरिएको छ। नियन्त्रणमा लिइएर कानुनी कारबाही अगाडि बढाएको फिफाले जनाएको छ।

 

उक्त खेलमा दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने सेनेगल विश्वकपबाट बाहिरिएको छ ।