जनता टाइम्स

१८ असार २०८३, बिहीबार १३:४१

पत्रकार खेम भण्डारीलाई पुर्याइयो अदालत


कञ्चनपुर, असार १८ । आज बिहानै पक्राउ परेका पत्रकार खेम भण्डारीलाई अदालतमा पेश गरिएको छ ।

बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पुष्पलाचोकबाट पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका निम्ति जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । गाली बेइज्जतीसम्बन्धी कसुरमा उनीविरुद्ध अदालतले गत वर्ष कैद र जरिवानाको सजाय तोके पनि कार्यान्वयन हुन सकेको थिएन ।

२०७५ साउन १० गते महेन्द्रनगरस्थित साथीको घर जान्छु भन्दै हिँडेकी भीमदत्त–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट अर्धनग्न अवस्थामा निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि अहिलेसम्म दोषी पक्राउ परेका छैनन् ।

यस प्रकरणमा आफूलाई जोडेर समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्टका छोरा किरणले पत्रकार भण्डारीविरुद्ध अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा हाल्नुभएको थियो । कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गर्दै एक महिना कैद र दश हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

त्यसविरुद्धको पुनरावलोकन मुद्दामा उच्च अदालतले थप सात दिन कैद र दुई हजार एक सय रुपैयाँ जरिवाना तोक्नुका साथै पीडित विष्टलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरिदियो । सोही फैसला कार्यान्वयनका निम्ति भण्डारीलाई समातेर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ