जनता टाइम्स

१८ असार २०८३, बिहीबार १८:३४

पत्नी इश्वरीको हत्यामा संलग्न नेपाली ब्रोसहित प्रेमिका प्रतीक्षा जेल चलान, दुई आरोपी धरौटीमा रिहा गर्न आदेश


काठमाडौं, असार १८ । श्रीमती इश्वरी भुजेलको हत्या अभियोगमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार (जेल) चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले थापा र आचार्यलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । अदालतको आदेशसँगै हत्या अभियोगमा प्रेमिप्रमिका दुवै जना अब कारागारको बास हुने भएको छ । अदालतको आदेशसँगै अव उनीहरुलाई जेल चलान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरीको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले साथी पुजन र भाइ विक्रमलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले नेपाली ब्रोलाई श्रीमती हत्याको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को उपदफा १ विपरीतको कसुर र प्रेमिका आचार्य, विक्रम थापा मगर र पुजनलाई भने दफा १७७ को उपदफा १ विपरीतको कसुर गर्न दुरुत्साहन गरेको भन्दै मुद्दा दर्ता गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो । प्रहरीको अनुसन्धान अनुसार विवाहेत्तर सम्बन्धदेखि लामो समयदेखिको पारिवारिक कलहका कारण हत्या भएको देखिएको छ ।

नेपालीमा सेनामा जागिर खाएका बेला नै प्रेम सम्बन्ध बसेर विवाह गरेको र त्यसपछि विभिन्न उतारचढाव भएको, मुद्दा–मामिला भएको र विवाहेत्तर सम्बन्धले थप समस्या खडा गरेपछि हत्यासम्म पुगेको निश्कर्ष प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

नेपाली ब्रोका प्रमिका प्रतीक्षाले पनि आफूहरू प्रेस सम्बन्धमा रहेको र बिवाह भइसकेको भएपनि छाडन नसकेको स्वीकार गरेकी छन । प्रहरी र सरकारी वकिलसँगको बयानमा उनले यस्तो स्वीकारोक्ति गरेकी हुन ।