जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १०:४७

उपसभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान, कांग्रेसको आयो यस्तो जवाफ


काठमाडौं, पुष ४

संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भए पनि बैठकको अध्यक्षता कसले गर्ने भन्ने टुंगो अझै लागेको छैन । उपसभामुख शिवमाया तुम्वाहाम्फेले अध्यक्षता गर्ने सम्भावना बढेपनि अन्तिम निर्णय भने भएको छैन ।

यसबारे छलफल गर्न उपसभामुख तुम्वाहाम्फेले आज दिउँसो एक बजे कार्यव्यवस्था परामर्ष समितिको बैठक बोलाउनु भएको छ । बैठकले नियमावली संशोधन गर्ने वा के गर्ने भन्नेबारेमा निर्णय गर्नेछ । सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भए पनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । आज बोलाइएको बैठक पनि दलीय रुपमा बस्छ कि कार्यव्यवस्था परामर्ष समितिका रुपमा बस्छ भन्नेमा स्पष्टता देखिएको छैन । बैठकका लागि दलहरुलाई निम्तो भने पठाइएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले सो बैठकमा जाने निर्णय गरेको छ । यसअघि उपसभामुखले बैठकको सुरुवात गर्ने सन्दर्भमा कांग्रेसले नियमावलीको कुरा ल्याएको थियो । तर संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने भन्ने व्यवस्था रहेकाले कांग्रेसले यसमा ‘पोजिशन’ नलिने सचेतक पुष्पा भुसालले बताउनु भयो । बैठक आजै अपरान्ह चार बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

यसैबीच, राष्ट्रिय सभाको बैठकको भने हिजो नै कार्यसूची तय भइसकेको छ । राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने र त्यसपछि संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । सम्बोधनको कार्यक्रम सकिएपछि पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधनमा शोक प्रस्ताव पारित गरिने छ ।