काठमाडौं, असार १९ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो भएपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता वीरबहादुर चन्दका अनुसार वर्षासँगै मुहानमा बाढी पस्दा पानीको गुणस्तर प्रभावित भएकाले प्रशोधन प्रक्रिया जटिल बनेको छ। त्यसका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने कार्य अस्थायी रूपमा रोकिएको हो।
प्रवक्ता चन्दले मुहानको पानीको गुणस्तर सुधार भएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार खानेपानी आपूर्ति सुरु गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार निरन्तर वर्षा भइरहेमा पानीको धमिलोपन कम हुन समय लाग्न सक्ने भएकाले काठमाडौं उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्छ।
केयूकेएलले उपभोक्तालाई आवश्यकताअनुसार पानीको प्रयोग गर्न तथा आपूर्ति पुनः सुरु नहुँदासम्म वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्