जनता टाइम्स

१९ असार २०८३, शुक्रबार १७:०६

राष्ट्रपति भएपछि ट्रम्पको कमाई आकासियो : कसरी कमाए २.२ बिलियन डलर थप सम्पत्ति ?


वासिङ्टन डिसी (अमेरिकार्), असार १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारले सन् २०२५ मा अर्बौं डलर सम्पति कमाएको तथ्य सार्वजनिक भएको छ ।

केही दिनअघि सार्वजनिक गरिएको अनिवार्य संघीय वित्तीय खुलासा (Mandatory Financial Disclosures)  अनुसार ट्रम्पले बर्तमान राष्ट्रपतीय कार्यकालमा कुल २ दशमलव २ अर्ब डलर (करिब २ खर्ब ९५ अर्ब नेपाली रुपैयाँ) व्यक्तिगत आम्दानी गरेको न्युयोर्क टाइम्सले खुलासा गरेको छ ।

सो पत्रिकाका अनुसार राष्ट्रपति ट्रम्पले आम्दानीको कुल २ दशमलव २ अर्ब डलरमध्ये करिब १ दशमलव ४ अर्ब डलर सन् २०२५ मा मात्र आर्जन गर्नुभएको देखिएको छ । प्रतिवेदनअनुसार सन् २०२५ मा ट्रम्पको सम्पत्ति ह्वात्तै बढ्नुको मुख्य कारण उनको पारिवारिक क्रिप्टोकरेन्सी व्यवसाय हो ।

सन् २०२५ मा वर्ष संयुक्त अरब इमिरेट्स सम्बद्ध एक लगानी कम्पनीले ट्रम्पको कम्पनी ‘वर्ल्ड लिबर्टी फाइनान्स’को झन्डै आधा हिस्सा खरीद गरेको थियो । यसबाहेक ट्रम्पले आफ्नै नामको डिजिटल मुद्रा बिक्रीबाट पनि सन् २०२५ मा वर्ष करोडौँ डलर कमाउनु भएको थियो । यस्तै १ दशमलव ४ अर्ब डलरबाहेक बाँकी ८०० मिलियन डलर भने उनको रियल इस्टेट र अन्य व्यवसायबाट प्राप्त भएको न्युयोर्क टाइम्सको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पको मात्र होइन, फस्ट लेडी मेलानिया ट्रम्पको समेत आम्दानीमा उल्लेख्य रूपमा वृद्धि भएको पाइएको छ । मेलानियाले सन् २०२५ मा मात्रै १ करोड ७३ लाख डलरदेखि १ करोड ८२ लाख डलरको बीचमा आम्दानी गर्नुभएको छ । अघिल्लो वर्ष सन् २०२४ मा उहाँको आम्दानी १० लाख डलरभन्दा पनि कम थियो । मेलानियाको कमाइको मुख्य स्रोत अमेजनसँगको फिल्म सम्झौता र आत्मकथाको बिक्री रहेको समाचारमा जनाइएको छ ।

उपराष्ट्रपति जेडी भान्सले पनि सन् २०२५ मा १४ लाखदेखि ७४ लाख डलरको बीचमा आम्दानी गर्नुभएको छ । सन् २०२४ मा उहाँको कमाइ २ लाख डलरको हाराहारीमा मात्र थियो । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार आत्मकथा ‘हिलबिली एलेजी’को रोयल्टीले सन् २०२५ मा उहाँलाई मालामाल बनाएको हो ।

सन् २०२५ को एकै वर्षमा राष्ट्रपति र उहाँको परिवारले यति ठूलो रकम आर्जन गरेपछि ‘स्वार्थको द्वन्द्व’ बारे अमेरिकामा बहस सुरु भएको छ । एकातिर ट्रम्पले क्रिप्टिकरेन्सीमाथि सरकारी नीति बनाइरहेका छन् भने अर्कोतिर तिनै नीतिबाट प्रभावित हुने व्यवसायबाट उनले अर्बौं डलर कमाइरहेका छन् ।डेमोक्र्याटहरूले यसलाई अमेरिकी इतिहासकै चरम नीतिगत भ्रष्टाचार भनेका छन् ।