जनता टाइम्स

१९ असार २०८३, शुक्रबार २२:३०

फेरिए अख्तियारका डिआइजी, खनाललाई हेडक्वार्टर तानेर पठाइयो पौडेल


काठमाडौं, असार १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालसहित अधिकांश उच्च अधिकारीहरूको सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि डिआइजी खनालसहित उच्च अधिकृतहरूको एकैपटक सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार अख्तियारमा कार्यरत  प्रहरीको सेट नै भ्रष्टाचार छानविनमा सघाउने भन्दा भ्रष्टाचारीलाई सूचना चुहाउने काममा संलग्न रहेको देखिएपछि परिवर्तन गरिएको हो ।

सोही कारण डिआइजी खनाललाई प्रहरी प्रधान कार्यालय, नक्सालको कार्य विभागमा तानेर सेट नै परिवर्तन गरिएको हो । अख्तियारमा कार्य विभागका डीआईजी अरुण पौडेल पठाइएको छ ।शुक्रबार गृहमन्त्री सुधन गुरुङको निर्णयबाट यो सरुवा भएको हो ।

यसअघि अख्तियारमा कार्यरत २ प्रहरी उपरीक्षक, ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको थियो । सरुवा हुने डीएसपीमा उमेश लम्साल, मदनजित महरा, गौतम थापा लगायत छन् । उहाँहरू सबै अख्तियारको प्रहरी महाशाखा अन्तर्गत खटिँदै आउनु भएको थियो ।