काठमाडौं, असार २० । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको र चटकेले नै ढाल्ने ठोकुवा गर्नुभएको छ । बालेन सरकार देश र जनताका लागि नभएर चटकका लागि बनेको भन्दै ओलीले ढाल्नेहरू पनि त्यहीभित्र रहेको बताउनु भयो ।
नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकार अरू कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएको तथ्य सुनाउनु भयो । ‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ । अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले चटकेले नै ढाल्न भनेर आफूहरू पर्खेर बस्न नहुने निश्कर्ष पनि सुनाउनु भयो । पर्खिएर बसेको खण्डमा त्यसले देश, लोकतन्त्र र जनतालाई बर्बाद गरिसकेको हुने ओलीले बताउनु भयो । ‘तर त्यो पर्खिएर हामी बस्यौं भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामी र जनतालाई बर्बाद गरिसक्छ । अनि हामी पर्खिरहेका हुन्छौं । कहिले परिवर्तन होला भनेर ? त्यसकारण परिवर्तन पर्खने चिज होइन । यो सचेत प्रयासबाट छिटो गरिने चिज हो,’ ओलीको भनाई थियो ।
केही गर्न सकिएन भनेर हिँड्ने होइन, एमाले हुनुमा गर्व गर्नुस
एमाले अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्रहत्या गर्ने प्रयास भइरहेको भन्दै कडा ढंगले प्रतिवाद जरुरी रहेको तथ्य पनि औल्याउनु भयो । विभिन्न भ्रष्टाचार र अनियमितताका घटनालाई एमालेसँग जोडेर पार्टीको छवि धमिल्याउने प्रयास भएको भन्दै प्रतिवाद जरुरी रहेको उहाँको निचोड छ ।
आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभत्र्सना गरेर, गल्ती गरियो, अपराध गरियो भनेर आत्मभत्र्सना गरेर हिँड्ने होइन । गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। गर्वका साथ ठाडो टाउको गरेर बोल्नोस

ओलीले सुन तस्करी, पशुपतिनाथ मन्दिरको जलहरी, गिरिबन्धु, वाइडबडी, ओम्नी र भुटानी शरणार्थी प्रकरणलगायतका विषयलाई लिएर एमालेमाथि अनावश्यक आरोप लगाइएको भन्दै आपत्ति जनाउनु भयो । ‘ती घटनामा व्यक्तिले गल्ती गरेको होला । तर, त्यसको अपराधको जिम्मा एमालेलाई लगाउन खोजिएको छ। कहीँ कसैले ठेक्कापट्टामा कमिसन खाएको हुन सक्छ, त्यसको आरोप नेकपा एमालेलाई लगाउने ? एमाले अरूभन्दा बिल्कुल पृथक पार्टी हो, पृथक रहनेछ, रहनुपर्छ,’ उहाँको भनाई थियो ।
उहाँले एमाले अन्य राजनीतिक दलभन्दा फरक चरित्र र सिद्धान्त भएको भन्दै एमाले हुनुमा हीन भाव होइन गर्व गर्न नेता–कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । ‘आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभत्र्सना गरेर, गल्ती गरियो, अपराध गरियो भनेर आत्मभत्र्सना गरेर हिँड्ने होइन । गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। गर्वका साथ ठाडो टाउको गरेर बोल्न र अगाडि बढ्न आग्रह गर्दछु,’ ओलीको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्