काठमाडौं, असार २१ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि निकै गम्भीर आक्षेप लगाउनु भएको छ ।
एकसाताअघि एकै मञ्चमा उभिएर बामपन्थी एकताको रटान दिनुभएका दाहालले आइतवार आयोजित पार्टीको भेलामा ओलीमाथि नै आक्षेपको बमबर्षा गर्नुभयो । संयोजक दाहालले केपी ओली प्रधानमन्त्री बालेनभन्दा पनि खतरनाक रहेको भन्दै आफूहरू पुरै चोखो रहेको कारण मात्रै जोगिएको भन्दै कार्यकर्ताबीच जुंगा मुठारेर हाँस्नुभयो । दाहालले भन्नुभयो, ‘केपी ओली हामीलाई सिध्याउन लाग्नुसम्म लागे तर केही भेट्टाएनन र बच्यौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले आफू र पार्टीका सहसंयोजक माधव नेपाललाई ’सिध्याउने’ खेलमा प्रधानमन्त्री बालेन शाह केपी ओली जसरी नलागेको र त्यो खेलमा नरहेको बताउनु भयो । बालेन सरकारले सय दिनमा पूर्वमाओवादी पृष्ठभूमिका कोही पनि पक्राउ गरेको छैन भने लडाकू शिवरको भ्रष्ट्राचारमा पनि बिगतकै सरकार जसरी आँखा चिम्लिएर बसेको छ । यसैलाई आधार मानेर दाहालले बालेन सरकार आफूहरुप्रति नरम रहेको भन्दै कार्यकर्तालाई हौस्याउनु भएको हो ।
‘केपी ओलीकै स्तरमा बालेन सरकार लाग्ने गरी हामीले कुनै कमी कमजोरी गरेका छैनौं,’ दाहालले भन्नुभयो, ‘केही भएको भए बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्नै पर्दैनथ्यो। केपी ओली नै काफी थियो। हाम्रो कहाँ, कति छ, कसरी फसाउने र कसरी सिध्याउने भन्नेमा ओलीले कम्ता खोजे ? केपीको तहमा बालेनजी छैनन् हामीलाई सिध्याउन ।’
संयोजक प्रचण्डले अन्य प्रसंगमा पनि एमाले अध्यक्ष ओलीमाथि नै अनेकन आक्षेप लगाउनु भएको थियो । शनिवार ओलीले एमाले बिभाजन र नेकपाको घटनाक्रमबार सबिस्तार बताउँदै प्रचण्ड र माधवले कसरी दुईतिहाईको सरकार ढालेर प्रतिगामी शक्तिलाई सेवा गरे भन्ने तथ्य राख्नुभएको थियो । नेकपा बिभाजनमा प्रचण्ड र माधवकै निर्णायक भुमिका रहेको तथ्य ओलीले औंल्याएको भोलिपल्ट दाहाल ओलीमाथि खनिनुभएको हो ।
कार्यक्रममा दाहालले महाधिवेशन पछि आफूलाई जेल हाल्ने कुरा दिन दिनै आएको पनि दावी गर्नुभयो । ’माधवजीलाई त मुद्दा लगाएकै छ पहिलेकै सरकारले । प्रचण्डको कहिले १४० अर्ब दुबईमा छ भनेको छ । तपाईंहरूको पनि दिमाग खराब भएको होला, तीन चोटी त प्रधानमन्त्री भइसक्यो जस्तो लाग्दो हो। कताकता के–के हो के–के ? केही भएको भए यो अहिलेको सरकारले गर्नै पर्दैनथ्यो। ओलीले नै गर्थे,’ दाहालको भनाई थियो ।
तर पनि वामपन्थी आन्दोलन चाहिन्छ भनेर आफूहरू फेरि सहकार्यको कुरा पनि गरिराखेको दाहालको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्