जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १५:३३

भान्जा–भान्जी अपहरण गरेको २४ घण्टा नबित्दै अर्को अपहरण, प्रहरीको क्वीक रेष्पोन्सले भयो सकुशल उद्दार


काठमाडौं, पुस ४ । महानगरीय प्रहरी काठमाडौं र जिल्ला प्रहरी कार्यालय मकवानपुर कुख्यात अपहरणकारीको पञ्जाबाट तीन बालबालिकासहित चार जनाको सकुसल उद्दार गर्न सफल भएको छ । लामो समयदेखि अपहरण गरी फिरौती असल गर्दै आएको सो समुहका सवै सदस्य पक्राउ गरी अपहरणमा परेका ब्यक्तिलाई सकुसल उद्दार गर्न प्रहरी सफल भएको हो ।

घटना बिवरणअनुसार काठमाडौं महानगरपालिका ३ सामाखुसीमा डेरा गरी बस्दै आउनु भएकी काभ्रे निवासी सीता मंसिर २८ गते अपरान्हतिर छोराछोरीलाई घरमा राखेर पोखरातर्फ निस्कनुभयो । १५ वर्षीया छोरी, १४ वर्षीय छोरा र भान्जीसँग बस्दै आउनु भएकी सीता जेठी छोरीलाई सम्झाएर ससुराको पेन्सन पट्टा बनाउन भन्दै पोखरा निस्कनु भयो । पोखरा जानुअघि उहाँले पहिलादेखि नै चिनजान रहेका भाई आशिष सिजापतिलाई पनि आफू पोखरा जान लागेको र नानीबाबुको हेरचाह गरि दिन आग्रह गर्नुभयो ।

काठमाडौं महानगरपालिका–३ बानेश्वरमा डेरा गरी बस्ने धनगढी निवासी २४ वर्षीय आशिषले ‘हुन्छ, चिन्ता नलिनुभन्दै’ भन्दै सीतालाई आश्वस्त पारे । आशिषले सीतालाई दिदी भनेर बोलाउँथे, सीताका छोराछोरीले पनि उनलाई ‘मामा’ भन्ने गर्थे । यसअघि सीता कहिले पनि छोराछोरीलाई छाडेर जानुभएको थिएन । जब सीता पोखरातिर लाग्नुभयो, आशिषको नियत अर्कै भयो । उनले भाञ्जाभाञ्जीको अपहरणको योजना बनाए । अन्ततः योजना सफल पनि बनाए । ३० गते सोमबार बिहान आशिष सीताको घरमा पुगे । सीताकी छोरी र भान्जी स्कुल जानको लागि तयारी गर्दै थिए । सीताको छोरा भने आशिष आउनुअघि नै स्कुल गइसकेका थिए । घर पुग्नासाथ ‘तिम्रो मम्मीले मलाई फोन गर्नुभएको छ, तिमी म सँग हिँड, मम्मीले भनेको गोगंबुस्थित ब्लू स्टार गेष्ट हाउसमा,’ आशिषले सीताकी छोरीलाई भने । ‘मामा’ ले त्यसो भनेपछि छोरीले उनको कुरालाई विश्वास नगर्ने कुरै थिएन । उनीसँगै निस्किइन।

आशिषले सीताको छोरालाई पनि सोही दिन बेलुकाको ५ बजेतिर दिदीहरु बसेको होटलमा ल्याए । ‘एकदिन बस्ने हो डराउन पर्दैन,’ भन्दै आशिषले उनीहरुलाई आश्वस्त पार्दै राखे । त्यसरी नै उनीहरुलाई ३ दिनसम्म आशिषले होटलमा राखे । सोमबार साँझ बच्चाहरुको हेरचाहको लागि भन्दै आफ्नो साथी विनोद थापामगरलाई बोलाएर आशिष बाहिर निस्किए । त्यो दिनदेखि उनी त्यहाँ गएनन् । विनोद थापाले नै उनीहरुको हेरचाह गरिराखे । उनीहरुलाई बाहिर निस्कन र फोन गर्न दिइएको थिएन । आफू अपहरणमा परेको उनीहरुलाई पत्तै भएन ।

यता, सोमबार साँझै आशिषले सीतालाई छोरीको मोबाइलबाट फोन गर्दै, ‘तपाईंको छोरा, छोरी र भान्जीलाई लिएर राखेको छु । ३ लाख ५० हजार दिएपछि मात्र छोड्छु भन्दै धम्की दियो ।’ आशिषले पैसा लिएर आउनुस् अनि मात्र बच्चा छोड्छु भनिरहे । कुन ठाउँमा पैसा लगेर बुझाउने त्यो पनि आशिषले खुलाएनन् । २ दिनसम्म सीताले घटनाबारे कसैलाई केही नभनी पैसा जुटाउनेतिर लाग्नुभयो । बुधबार सीता पोखराबाट काठमाडौँ फर्किनुभयो । काठमाडौं फर्केलगत्तै उहाँले साँझ ६ बजेतिर महानगरीय प्रहरी बृत्त महारागञ्ज पुगेर घटनाबारे जानकारी दिनुभयो । सो जानकारी लगत्तै उनीहरुको खोजी गर्न काठमाडौं उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरियो । अन्नतः महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले खोजी गर्ने क्रममा तीनैजना बच्चाको सकुशल उद्दार गर्न सफल भयो । प्रहरीले विनोद थापामगर र होटल सञ्चालकलाई समेत पक्राउ गरेको छ ।

आशिषको समूहले नाताले भान्जाभान्जी पर्ने तीन बच्चालाई अपहरण गरेर सामाखुसीस्थित ब्लू स्टार गेष्ट हाउसको कोठा नम्बर ४०४ मा राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका विनाद थापामगर र होटल सञ्चालकमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भाञ्जाभाञ्जी अपहरण गरी फिरौती मागेका आशिस होटलमा साथीको जिम्मा लगाएर अर्काे अपहरण गर्न गएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार होटलमै रहेको बेला धादिङ नेत्रावती गाउँपालिका–६ बस्ने २४ वर्षीय किसन गुरुङले आशिषलाई फोन गरेर भनेका थिए, ‘अर्को एकजना सोझो मान्छेलाई अपहरण गर्न सकिन्छ । आउन पर्यो ।’ त्यतिबेलासम्म आशिषले सीतालाई फोन गरेर पैसा नदिए तीनैजनालाई मारिदिन्छु भनेर धम्की दिइसकेका थिए । किसनको फोनलगत्तै आशिष विनोदलाई बच्चाको हेरचाह गर्न भन्दै अर्काे अपहरणका लागि बाहिरिए । तीन बालबालिका अपहरण गरेको २४ घण्टा नबित्दै आशिषको नेतृत्वमा अपहरणकारीले मङ्गलबार बिहानै टोखा नगरपालिका–३ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–५ घर भएका २१ वर्षीय नरेश थापामगरको अपहरण गर्यो । अपहरण गरेर नरेशलाई रातारात उनीहरुले हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित सरस्वती तामाङको घरमा पुर्याइयो ।

यसरी खुल्यो पोल

अमलेखगञ्जबाट काठमाडौं जान भनी हेटौंडातर्फ जाँदै गरेको बा.२ ज ५९५ नम्बरको ट्याक्सीमा सवारमध्येका मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेको र आफूले कुटाइ खाएको जानकारी प्रहरीमा आयो । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट तत्कालै खटिएको प्रहरीले नरेशलाई बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गर्यो ।

नरेशको अपहरण कार्यमा संलग्न किसन गुरुङ, आशिक लामा, आशिष सिजापती, सुनिता धामी र सरस्वती तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आशिष सिजापति यसअघि पनि अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न अभियुक्त रहेको प्रहरीको भनाई छ ।