काठमाडौं, जेठ २४ । फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज बिहान सम्पन्न अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।पेनाल्टीमा स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरेका थिए ।
यो जितसँगै १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले चौथोपटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । सन् १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्ड त्यसयता समूह चरण र अन्तिम १६ बाटै बाहिरिदै आएको थियो ।
अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि आइतबार साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ ।













प्रतिक्रिया दिनुहोस्