काठमाडौं, असार २४ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूविरुद्ध सामाजिक सञ्जालमा लेख्दा–बोल्दा थुनिहाल्नुपर्ने हो ? भन्न्े प्रश्नसहित आक्रोश पोख्नुभएको छ ।
पाँचथरमा युटुवरलाई जेल पठाएको भोलिपल्ट प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद साम्पाङले यस्तो आक्रोश पोख्नुभएको हो । उहाँले सदन पनि अराजकतातर्फ उन्मुख भएको भन्दै लोकतन्त्र र अराजकतामा के फरक छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताउनु भयो ।
‘जब हामी लोकतन्त्रमा नियम मान्दैनौँ, अथवा एकथरिले मात्रै मान्नुपर्ने बाध्यता, अर्को थरिलाई नमान्दा हुन्छ भन्ने बाध्यता हुन्छ। मलाई लाग्छ यो सदन पनि बिस्तारै–बिस्तारै अराजकतातर्फ उन्मुख हुँदै छ। सभामुखले पनि यो महसुस गर्नुहुनेछ,’ सांसद साम्पाङले भन्नुभयो । उहाँले प्रधानमन्त्री, मन्त्रीलगायतका पदाधिकारीहरूलाई नियमावली अनुसार चल्नुपर्ने भन्दै अहिलेसम्म त्यसो हुनै नसकेको बताउनु भयो । सामाजिक सञ्जालमा सुन्न नसक्ने गालीगलौज आइरहेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।
‘अब केलाई लोकतन्त्र भन्ने र केलाई अराजकता भन्ने ? यहीँ प्रश्न छ । प्रधानमन्त्रीलाई एकजना व्यक्तिले गाली गर्नुभएछ । उहाँलाई पक्राउ गरेर पुर्पक्षमा पठाइयो भन्ने सुनिएको छ, अरुलाई जे भन्दा पनि छुट हुने अवस्था छ । यो कुरा सच्याएर एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

साम्पाङले प्रधानमन्त्री, मन्त्रीहरूलाई गाली गर्दा पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा पक्राउ पर्नुपर्ने कि नपर्ने ? भन्दै आक्रोश पनि पोख्नुभयो ।
साम्पाङले थप्नुभयो, ‘मलाई पनि दुईजना व्यक्तिले ज्यानै मार्ने, मेरो घरै जलाइदिन्छु भन्ने सम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। के आफ्ना समर्थकले जे भन्दा पनि छुट हुन्छ भन्ने हो ?’ उहाँले सरकारले सत्ताधारीलाई जे गर्न पनि छुट दिने शैली अपनाएको भन्दै लोकतन्त्रसँग यो बिल्कुलै मेल नखाने तथ्य पनि औंल्याउनु भयो ।













प्रतिक्रिया दिनुहोस्