जनता टाइम्स

२४ असार २०८३, बुधबार १७:५१

‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन हेल्लो सरकारमै निवेदन हाल्नुपर्ने हो ?’


काठमाडौं,  असार  २४।  नेकपा (एमाले)की सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई जवाफदेही बनाउन ‘हेल्लो सरकार’मै निवेदन हाल्नुपर्ने अवस्था आएको हो कि भन्दै सरकारमाथि व्यंग्य गर्नुभएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अर्यालले सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि व्यक्त गर्दै महँगी बढेको, जनताको जनजीवन थप कष्टकर बनेको र सरकार संसदप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनुभयो।

सरकारले सार्वजनिक गरेको १०० दिने प्रगति प्रतिवेदनमा ‘हेल्लो सरकार’मा परेका ६० प्रतिशत उजुरीको सुनुवाइ सम्पन्न भएको उल्लेख गरिएको स्मरण गराउँदै उहाँले प्रश्न गर्नुभयो, ‘के प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन र जवाफदेही बनाउन हामीले पनि ‘हेल्लो सरकार’मा निवेदन हाल्नुपर्ने हो ?’

सांसद अर्यालले सरकारको प्रतिवेदनमा सुकुम्बासी व्यवस्थापनको काम भइरहेको दाबी गरिए पनि वास्तविक अवस्था फरक रहेको जिकिर गर्नुभयो। काठमाडौंका होल्डिङ सेन्टरबाट विस्थापित सुकुम्बासीहरू अहिले विभिन्न स्थानमा अलपत्र परेको उल्लेख गर्दै उहाँले सरकारको दाबी र व्यवहारबीच ठूलो अन्तर रहेको बताउनुभयो।

उहाँले जनसरोकारका विषयमा सरकारले संसदप्रति उत्तरदायी भई स्पष्ट जवाफ दिनुपर्ने तथा नागरिकका समस्याको समाधानमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।