जनता टाइम्स

२५ असार २०८३, बिहीबार १३:११

रास्वपा सांसद राजु पाण्डेको घोषणा : मेलम्चीको पाइप फुटाइदिन्छु


काठमाडौं, असार २६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले काठमाडौंको सरकारले आफ्नो कुरालाई सामान्य रुपमा लिए कडा कदम चाल्न बाध्य हुने चेतावनीसहित मेलम्चीको पानीको पाइप नै फुटाइदिने घोषणा गर्नुभएको छ ।

गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणका लागि ल्याइएको पाइप फुटाइदिने घोषणा सांसद पाण्डेले गर्नुभएको हो । काठमाडौं ३ बाट निर्वाचित पाण्डे प्रधानमन्त्री बालेन्द्र शाहकै प्रियपात्र हुनुहुन्छ ।

आफ्नै नेता सरकारको नेतृत्वकर्ता भए पनि जनताको कुराको सुनुवाई नभएकोमा निकै आक्रोशित बनेका सांसद पाण्डेले पानी नदिए पाइप नै फुटाएर अवरोध गर्ने घोषणा गर्नुभएको हो । संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पाण्डेले खानेपानी वितरणमा कर्मचारीहरूको बदमासी र लापरबाही असह्य भएको भन्दै आक्रोश पोख्नुभयो ।

मेलम्चीको पानी आउने मुख्य क्षेत्रका बासिन्दा नै प्यासी हुनुपर्ने अवस्था आएको भन्दै पाण्डेले अब आफू चुप लागेर नबस्ने बताउनु भयो । ‘गोकर्णेश्वरका जनताले पानी नपाए ड्याम नै बन्द गरिदिने र पाइप समेत फुटाइदिने’ सार्वजनिक धम्की पाण्डेले दिनुभएको हो ।

‘जनताले खानेपानी नपाउने हो भने त्यहाँको ड्याम हामी बन्द गरिदिन्छौँ, त्यहाँबाट पानी आउन दिँदैनौँ । पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, त्यो म आफैँ फुटाउनेवाला छु । गोकर्णको पानी गोकर्णकै जनताले खान नपाउने, अनि अन्य भेगमा लैजाने कुरा मलाई स्वीकार्य छैन,’ पाण्डेले भन्नुभयो, ‘अस्ति शनिबार जाँदा त्यहाँका बुवाआमाहरू पानी नपाएर रोएको देखेँ । गाग्री बोकेर कति समय पानी खोज्न हिँड्ने ? यो एकदमै संवेदनशील विषय हो ।’

सांसद पाण्डेले बालेन सरकारले पनि परिणाममुखी काम गर्न नसकेको वा नचाहेको तथ्यलाई उजागर पनि गर्नुभयो । कर्मचारीको कार्यशैलीप्रति निकै आक्रोशित बन्नुभएका सांसद पाण्डेले ‘ब्युरोक्रेसी’ अझै नसुध्रिएको र सुधारको गुन्जायस नै नरहेको बताउनु भयो । उहाँले केयूकेएलका कर्मचारीहरूले मनलाग्दी ढंगले पानी वितरण गर्ने गरेको र त्यहाँ एउटा ‘नेक्सस’ नै सक्रिय रहेको आरोप लगाउनु भयो ।

‘तपाईँहरूको स्टाफको सञ्जाल यस्तो छ कि साध्यै छैन । आफ्नो मन लागेको बेला मन लागेको टोलमा पानी खोलिदिने, मन नलागेको ठाउँमा नखोलिदिने । म सांसद जस्तो मान्छेले त त्यति हण्डर खानुपर्छ भने सर्वसाधारण जनताको हालत के होला ?’ पाण्डेको भनाई थियो ।

सांसद पाण्डेले आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानीट्यांकीमा काम रोकिएको र गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ वडासम्मका जनता सन्तुष्ट नरहेको भन्दै तत्काल अनुगमन र समस्या समाधानका लागि समितिको ध्यानाकर्षण पनि गराउनु भयो ।